रसुवा जिल्ला हाँक्दै दुई महिला 

नेपाल लाइभ | २०७४ भदौ १६ शुक्रबार | Friday, September 01, 2017 १४:२९:५९ मा प्रकाशित

रसुवा– गणनन्त्र स्थापनासँगै राज्यका महत्वपूर्ण पदमा महिलाले नेतृत्व लिने क्रम बढिरहेको छ। राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशजस्ता महत्वपूर्ण अंगमा महिला पुगेका छन्।

देशका हरेक निकायले महिला नेतृत्व पाइरहँदा रसुवाको प्रशासनिक निकायले पनि पहिलो पटक महिला नेतृत्व पाएको छ। यहाँको प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी पदमा महिला पुगेका हुन्।

कार्यालय स्थापना भएदेखि हालसम्म प्रजिअमा महिला आएका थिएनन्। जिल्लाकै इतिहासमा पहिलो पटक ३६औं प्रजिअका रुपमा हिरादेवी पौडेल र सहायक प्रजिअमा स्मिता पौडेलले कार्यभार सम्हालेका छन्। 

दुवैै पदमा महिलाको आगमनसँगै रसुवाको प्रशासनिक नेतृत्व महिलाको काँधमा पुगेको छ। यसअघि प्रजिअ चोमेन्द्र न्यौपानेलाई गृह मन्त्रालयले सरुवा गरेसँगै हिरादेवीले रसुवा जिल्लाको नेतृत्व लिएकी हुन्। 

नेतृत्व सम्हाले लगत्तै उनले कार्यालयमा स्तनपान कक्ष तथा सहायता कक्ष स्थापना गरेकी छिन्। यसअघि जिल्लाका कुनै पनि कार्यालयमा स्तनपान कक्ष थिएन।

महिला सेवाग्राहीको असुविधालाई ध्यानमा राखी स्तनपान कक्ष तथा सेवा प्रवाहमा सहजीकरणका लागि सहायता कक्षको स्थापना गरेको प्रजिअ पौडेलले बताइन्। विकट स्थानबाट महिलाहरु बच्चा लिएर आउनुपर्ने वाध्यता देखेकाले यस्तो कक्ष स्थापन गरिएको उनको भनाइ छ। ‘नागरिकता, पासपोर्ट लगायतका काममा आउनुपर्दा बाहिरै स्तनपान गराएको देख्दै आएकी थिएँ,’ उनले भनिन्, ‘खुल्ला स्थानमा असहज भएकाले कार्यालयकै  एउटा कोठालाई स्तनपान कक्षका रुपमा परिणत गरेका हौं।’ कुन कामका लागि कुन शाखामा जाने भनेर थाहा नपाउने सेवाग्राहीका लागि सहायता कक्ष बनाइएको उनले जानकारी दिइन्।

जिल्लाको प्रशासनिक निकायमा पहिलो पटक महिला नेतृत्व आएसँगै चुनौती पनि थपिएको छ। रसुवागढी नाका व्यवस्थापन, पर्यटन तथा महिला लगायतका क्षेत्रमा धेरै काम गर्नुपर्ने भए पनि आफू तयार रहेको उनको भनाइ छ। 

‘यसअघि पुरुषहरु जिल्ला प्रमुखमा हुन्थे, महिलाका समस्या खुलेर राख्न असहज थियो,’ स्थानीय सुनिता गुरुङ भन्छिन्, ‘पुरुष सिडिओ हुँदा कामै नभएको भन्न त मिल्दैन अब महिला नेतृत्वमा आएपछि हामीले थप राहतको महसुस गरेका छौं। न्याय पाउनेमा विश्वस्त छौं।’

२०५४ सालमा नायब सुब्वा तहबाट सेवा प्रवेश गरेकी प्रजिअ पौडेलसँग करिब १० वर्ष स्थानीय विकास मन्त्रालयमा काम गरेको अनुभव छ। २०६३ मा उनी शाखा अधिकृत भइन्। उनी २०६४ मा सम्पन्न भएको संविधानसभाको पहिलो निर्वाचनमा मुस्ताङका लागि जिल्ला निर्वाचन अधिकृत भएर खटिइन्। त्यहाँ करिब दुई वर्ष काम गरेकी उनी श्रम मन्त्रालय अन्तर्गत संयुक्त अरब इमिरेट्समा श्रम सहचारीका रुपमा करिब साढे दुई वर्ष सेवारत रहिन्।

पछिल्लो समय गृह मन्त्रालयमा रहेर सेवा गरेकी उनले स्थानीय तहको निर्वाचनमा प्रदेश नम्बर ७ को निर्वाचन रिपोर्टिङ गरिन्। विभिन्न प्रशासनिक भूमिकामा रहेर उनले करिब २० वर्ष सरकारी सेवा गरिसकेकी छिन्।