सन् १९५८ मा इरानका राजकुमार करिम आगा खाँ घुम्दै बंगलादेशको राजधानी ढाका पुगेका मात्र के थिए, उनलाई एउटा सौख जागेछ– त्यस क्षेत्रमा एउटा बृहत् फुटबल प्रतियोगिता आयोजना गर्ने।
त्यतिबेला बंगलादेश पाकिस्तानबाट अलग भइसकेको थिएन। त्यसैले बंगलादेशलाई पूर्वी पाकिस्तान पनि भन्ने गरिन्थ्यो। खाँ ले प्रतियोगिता आयोजनाका लागि ट्रफी मात्र होइन, खर्च पनि उपलब्ध गराउने आश्वासन दिएपछि एसियाको ‘अनधिकृत क्लब च्याम्पियनसिप’ को रुपमा १९५८ देखि नै आगा खाँ गोल्ड कप सुरु भयो।
यो प्रतियोगितामा नेपाल ठीक पाँच वर्षपछि सन् १९६३ मा सहभागी भयो। त्यतिबेला नेपाली टोली छोटो समयको तयारीका बीच पाकिस्तान एयरलाइन्सको विमान चढेर ढाका उडेको थियो।
विदेशी भूमिमा पहिलो गोल गर्ने प्रकाशविक्रम शाह
नेपाली खेलकुदका पिता नरशमशेर राणाको अगुवाईमा उडेको नेपाली टोलीमा पूर्वाञ्चलका ७ र काठमाडौंका ११ गरी कुल १८ खेलाडी सहभागी थिए। नेपालले पहिलो खेल वेस्टर्न रेल्वे विरुद्ध खेल्यो। त्यो खेल हेर्न ढाकाको स्थानीय बंगबन्धु रंगशालामा दर्शकको भीड लागेको थियो। तर दुर्भाग्य, नेपालले पहिलो खेलमै ८–० को पराजय भोग्यो।
त्यसको दुई दिनपछि नेपालले दोस्रो खेल खेल्यो, ढाका वन्डर्स विरुद्ध। सो खेलमा पनि नेपाल ७–० ले पराजित भयो। दुई खेलमा १५ गोल खाइसकेको नेपालले तेस्रो तथा अन्तिम लिग खेलेको थियो, ढाका पुलिस विरुद्ध। जुन खेलमा नेपाल १–० ले विजयी भयो। त्यो गोल गरेका थिए, प्रकाशविक्रम शाहले।
‘राइट आउट’ प्रकाशले खेल सकिन १५ मिनेटअघि इन्द्रसिंह सुब्बाले मैदानको बीच भागबाट दिएको बललाई ‘सेकेन्ड बार’ च्यापेर उत्कृष्ट गोल गरेका थिए।
यसअघि कुनै पनि नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा गोल गर्न सकेका थिएनन्। विदेशी भूमिमा पहिलो गोल गर्ने नेपाली खेलाडी बनेपछि दंग परेका प्रकाशलाई सबै नेपाली खेलाडीले मैदानमा जुरुक्क उठाएर खुसी साटेका थिए।
बंगलादेशको ढाकामा भएको आगा खाँ गोल्ड कपमा सहभागी नेपाली टिम
‘मलाई अझै याद छ, ढाका रंगशालामा हल्का पानी परेको थियो। विपक्षी गोलकिपर अगाडि बढेको मौकाको फाइदा उठाउँदै प्रकाशले राइट साइडबाट च्यापेर गोल हाने,’ ५४ वर्ष अगाडिको कुरा सम्झँदा अझै उत्साही हुन्छन्, विष्णु बराल। ७६ वर्षीय बराल यो प्रतियोगिताको तीन वटै खेलमा गोलकिपरको भूमिकामा थिए।
अघिल्लो दुई खेलमा बढी गोल खाएकाले नेपाल क्वाटरफाइनल पुग्न असफल भयो। ‘अघिल्लो दुई खेलमा कम गोल खाएको भए हाम्रो क्वाटरफाइनल पुग्ने सम्भावना थियो,’ उनले भने।
वास्तवमा नेपालले अघिल्लो दुई खेलमा बढी गोल खानुको कारण टोलीमा खेलाडीबीच राम्रो समन्वय स्थापित नहुनु थियो। तेस्रो खेलभन्दा अगाडि ढाका वन्डर्सका प्रशिक्षकले नेपाली खेलाडीलाई प्रशिक्षण दिएका थिए। ती प्रशिक्षकको भनाइ थियो– नेपालको खेल राम्रो छ, तर कोर्डिनेसन राम्रो छैन।
उनको प्रशिक्षणपछि नेपालको खेलमा सुधार देखियो। ‘पहिलो दुई खेलमा हाम्रो कोर्डिनेसन मिलिरहेको थिएन। ढाका वन्डर्सका प्रशिक्षकले प्रशिक्षण दिएपछि सुधार देखियो,’ नेपाली टिमका अर्का खेलाडी कोमल पाण्डे सम्झन्छन्।
पहिलो पल्ट अन्तर्राष्ट्रिय क्लब प्रतियोगिता खेल्न गएको नेपाली टोलीमा पूर्वाञ्चलबाट अमर थापा, इन्द्रसिंह सुब्बा, प्रभुधन सुब्बा, विष्णु बराल, शालिग्राम अधिकारी, बाबा गुरुङ र पदम श्रेष्ठ समावेश थिए। काठमाडौंबाट कोमल पाण्डे, प्रकाशविक्रम शाह, गजेन्द्र बस्नेत, मोहम्मद अफताव, लक्ष्मणविक्रम शाह, बिआर थापा, राजबहादुर सिंह (आरबी राजा), ज्ञानबहादुर श्रेष्ठ, जी धक्वा र जनकशमशेर थापा (बच्चु) को सहभागिता थियो। नेपाली टोलीको कप्तान आरबी राजा थिए।
बंगलादेशको ढाकामा भएको आगा खाँ गोल्ड कपमा सहभागी नेपाली टिम। प्रकाशविक्रम शाह दायाँबाट दोस्रो(बसेको)
‘सबैसँग घुलमिल हुने र निकै शालीन थिए प्रकाश’, काठमाडौंमा सहिद स्मारक लिग प्रकाशको विपक्षी टिमबाट खेलेका महावीर क्लबका स्ट्राइकर कोमल पाण्डे भन्छन्।
प्रकाश फुटबल मात्र होइन, टेबल टेनिस र क्रिकेटमा पनि उत्तिकै पोख्त थिए। उनले व्यावसायिक फुटबल न्युरोड टिम (एनआरटी) बाट खेले। २०२० सालतिर बच्चु र उनलाई उत्कृष्ट ‘स्ट्राइकिङ’ जोडी मानिन्थ्यो। एनआरटीले १९६०–६१ र १९६२–६३ को लिग जित्दा प्रकाश टोलीका मुख्य सदस्य थिए।
प्रकाशले काठमाडौं खेल मण्डल (केकेएम) मा रहेर लामो समय क्रिकेट पनि खेले। उनीसँगै केकेएमबाट क्रिकेट खेलेका दामोदर सुवाल भन्छन्, ‘ऊ अलराउन्डर थियो। तीव्र बलिङ गथ्र्यो। तेस्रो नभए चौथो पोजिसनमा ब्याटिङ गर्न मैैदानमा छिथ्र्यो।’
सन् १९६५ मा नेपाली टेबल टेनिस टोली अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि चीन जाँदा उनी जिपी लोहनी, सिपी लोहनी, वाइपी लोहनी, वाइआर जोशी, जेआर जोशी, बिडी पन्त, प्रेमराज जोशी, पोषणराज जोशी, केएन भट्टराई, केआर पाण्डे, एएस मणि र गीता राणासँगै टोलीमा समावेश थिए।
एनअारटी क्लबबाट खेल्दा प्रकाशविक्रम शाह बाँयाबाट पहिलो(उभिएको)
प्रकाशको ४२ वर्षकै अल्पायुमा २०४२ सालमा हृदयाघातका कारण निधन भएको थियो। निधन हुनुअघि उनी नापी विभागको उच्च ओहदामा बसेर काम गरिरहेका थिए। ‘उहाँ दुई वर्ष हल्यान्ड बसेर आइटिसीको कोर्स गरेर फर्किनुभएको थियो,’ सगुना शाह आफ्नो बुवाको विषयमा भन्छिन्।
प्रकाशविक्रम शाहको निधन भएको ३२ वर्ष बितिसकेको छ। तर, त्यही एउटा गोलका कारण उनलाई अहिले पनि पुराना पुस्ताका खेलाडीले सम्झने गर्छन्। ‘उनकै कारण हामी यो प्रतियोगितामा गोलविहीन हुनबाट जोगिएका थियौं,’ त्यो बेलाका गोलकिपर बराल भन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।