मुम्बई- आम नेपालीका लागि नयाँ नाम हुन सक्छ, सुनिल नेगी। तर, हिन्दी फिल्म उद्योग बलिउडका लागि नयाँ नाम होइनन्, उनी। बलिउडमा उनलाई नचिन्ने सायदै कोही कलाकार होलान्। उनले करिब ३ सय हिन्दी फिल्ममा नाचिसकेका छन्। आफै सहयोगी भएर दर्जनौं फिल्ममा काम गरिसकेका छन्।
सुनिलको परिचय यतिले मात्र पूरा हुँदैन। उनको सबैभन्दा ठूलो चिनारी नै नेपाली हो। फेरि उनी बलिउडका चर्चित नृत्य निर्देशक रेमो डिसुजाका मिल्ने साथी हुन्। उनीहरुको मित्रताको कायल छ, बलिउड। उनीहरु मिलेको देखेर डाहा गर्नेहरु पनि उत्तिकै भेटिन्छन्, हिन्दी फिल्ममा।
वास्तवमा सुनिल दूधेबालक हुँदै मुम्बई पुगेका थिए। बाल्यकालमा आमाबुवा गुमाएपछि सुनिललाई चिनजानका एक आफन्तले मुम्बई पुर्याएएका थिए। त्यसैले उनलाई उत्ति साह्रो नेपाली बोल्न आउँदैन।
उनी आफू विराटनगरमा जन्मिएको बताउँछन्। तर, घर कहाँ पर्छ? त्यो उनलाई थाहा छैन। तर बलिउडमा नाचेकै भरमा मुम्बईमा दुई वटा घर बनाइसकेका छन्।
सुनिलको फिल्मी करिअर 'रंगिला'बाट सुरु भएको थियो। त्यतिबेला अहिलेका चर्चित नृत्य तथा फिल्म निर्देशक रेमो डिसुजासँग मिलेर फिल्ममा ‘धुम’मच्चाएका थिए।
रेमोको स्टुडियो मुम्बईमा छ। हामीले त्यहीँ भेटेका थियौं दुवैलाई। सुनिलको विषयमा उनी भन्दै थिए, ‘मेरो बच्चादेखिको साथी हो ऊ। एउटै थालमा खाना खाएर र एउटै बेडमा सुतेर हामी हुर्किएका हौं।’
मुम्बईमा उनी प्रायः रेमोसँगै देखिन्छन्। मुम्बईस्थित रेमोको स्टुडियोमा भेटिएका सुनिलको विषयमा स्वयं रेमो भन्दै थिए, ‘मेरो बच्चादेखिको साथी हो। एउटै थालमा खान खाएर र एउटै बेडमा सुतेर हामी हुर्किएका हौं।’
सुनिलले केही भन्नुअगाडि नै रेमोले थपिहाल्थे, ‘यो निकै इमानदार छ। मेरो सुख–दुःखको साथी हो।’
सुनिल अहिले पनि बलिउडमा नृत्य निर्देशन गर्छन्। उनको तुलनामा रेमोले करिअरमा ठूलो छलाङ मारिसकेका छन्। रेमो अहिले फिल्म निर्देशनमा पनि उत्तिकै सक्रिय छन्। रेमोको सफलता देखेर सुनिल पनि गर्व गर्छन्।
‘म जुन फिल्ममा काम गर्छु। सुनिलले त्यसमा गर्नैपर्छ। ऊ बिना म अपुरो छु। हामी जुनीजुनीका सच्चा साथी हौं,’ रेमो भन्छन्।
सुनिल आफ्नो नृत्य देखाउन विश्वका धेरै देश पुगिसकेका छन्। नेपाल आउने भाग्य भने उनलाई जुरेको छैन। यसमा उनलाई ठूलो पछुतो छ।
सानोमा रेमो र आफूले गरेको दुःख सुनाउँदै उनले भने, ‘म खाना पकाउँथे। रेमोको काम भाँडा माझ्ने र कोठा सफा गर्ने हुन्थ्यो।’
सुनिलले विगत सुनाउँदा रेमो पनि भावुक बने।
बलिउडमा सुनिल र रेमोको मित्रतालाई लिएर डाहा गर्ने धेरै छन्। रेमो अरुकै ईर्ष्याले आफूहरु सफल भएको बताउँछन्।
बलिउड फिल्ममा अचेल नयाँनयाँ प्रयोग हुने गरेको छ, जहाँ डान्स अनिवार्य जस्तै बनेको छ। भारतीय टिभी च्यानलहरुमा देखिने डान्स रियालिटी शोहरुले त यसलाई व्यवसायको रुपमा लिएका छन्। मुम्बईमा डान्सरहरुको भिडमा सुनिल यसरी माथि आइदिए कि उनले रेमोसँग मात्रै नभएर हरेक कलाकारसँग नजिक भएर काम गरिसकेका छन्।
बलिउडका अभिनेता अमिताभ बच्चन, शाहरुख खान, अक्षय कुमार, सुनिल सेट्ठी, सलमान खान, रणवीर कपुर तथा अभिनेत्री ऐश्वर्य राय, दीपिका पादुकोण र कैट्रिना कैफ लगायतका कलाकारसँग उनी नाचेका छन्। फिल्ममा सहायक कोरियोग्राफीको भूमिकामा पनि उनी रहे।
२० वर्षअगाडि माइकल ज्याक्सन डान्सलाई मोडर्न अथवा ब्रेकडान्स भनिन्थ्यो, अहिले डान्स विविध आयाममा फैलिइसकेको सुनिल बताउँछन्।
उनी नयाँनयाँ कोरियोग्राफीमा रुचि राख्छन्। बी बोइङ, साल्सा लगायत नृत्यका सम्पूर्ण विधामा पारंगत उनी अथक मेहनतले नै बलिउडमा आजसम्म टिकिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।