काठमाडौं- शुक्रबार नेपाली बक्स अफिसमा एक हिन्दी र एक नेपाली गरी दुई फिल्म रिलिज भएका छन्।
नेपालीमा अभिनेत्री झरना थापाको निर्देशकीय डेब्यु फिल्म 'ए मेरो हजुर २' र हिन्दीमा मिलन लुथरिया निर्देशित 'बादशाहो' रिलिज भएको हो। फिल्मको गीत-संगीतले पाएको हाइपका कारण 'ऐ मेरो हजुर २' ले मल्टिप्लेक्समा बलिउड स्टार अजय देवगन, इमरान हास्मी, इलियाना डिक्रुज स्टारर 'बाद्शाहो' भन्दा बढी शो प्राप्त गरेको छ। कुनै पनि बलिउड स्टारको फिल्म रिलिज हुँदा यस्तो संख्यामा शो थोरै नेपाली फिल्मले पाउँछन्।
फिल्मले नेपाली मल्टिप्लेक्समा यस्तो शो पाउनुको पछाडि फिल्मको गीत-संगीतसँगै मात्र एक फिल्म पुरानी अभिनेत्री साम्राज्ञीको क्रेजलाई समेत ठानिएको छ। डेब्यु फिल्म 'ड्रिम्स'का बेला युवा स्टार अनमोलको अगाडि छायामा परेकी साम्राज्ञीले रिलिजपछि भने 'लाइमलाइट' अनमोलबाट आफूतिर सार्न सफल भएकी थिइन्।
'ए मेरो हजुर'मा साम्राज्ञीसँग सलिनमान बानियाँले डेब्यु गर्दैछन्। युवापुस्ताको प्रेमकथा भन्ने फिल्मले युवा दर्शकलाई आफूतर्फ आकृष्ट गर्न सफल हुने अनुमान गरिएको छ।
फिल्म देशभरका ९० भन्दा बढी पर्दामा रिलिज हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।