'स्टुडेन्ट अफ द इयर' देखि 'बद्रीनाथकी दुल्हनियाँ' सम्म वरुण धवनले पाँच वर्षमा आठ फिल्ममा काम गरेका छन् । सबैजसो फिल्मले राम्रो व्यापार पनि गरे।
पछिल्लो समय उनी नवौं फिल्म 'जुडवा २' को प्रदर्शनको पर्खाइमा छन् । आफ्ना पिता डेविड धवनको निर्देशनमा 'मैं तेरा हिरो' पछि दोस्रो फिल्ममा काम गरेका वरुणले कामप्रतिको आफ्नो समर्पण प्रकट गरेका छन्।
'जुडवा २' मा तापसी पन्नु र ज्याकलिन फर्नान्डेजसँग रोमान्स गरेका उनले पिताको फिल्ममा सधैं व्यावसायिक भएर काम गर्ने गरेको बताए । उनी भन्छन्, 'मैले बुवाको फिल्ममा विशुद्ध अभिनेताको रुपमा काम गरेँ । म मस्तीका लागि बुवाको अगाडि कहिले पनि चुम्बन गर्दिनँ।'
बलिउडका ख्यातिप्राप्त निर्देशकको छोरा हुनुमा उनी आफूलाई भाग्यमानी समेत मान्छन् । पिताबारे उनी भन्छन्- 'उहाँ धेरै ठूलो र सफल निर्देशक हुनुहुन्छ । मलाई उहाँको साथ काम गर्ने मौका मिल्यो । उहाँको फिल्महरुमा कलाकारहरुको मिहिनेत देखिन्छ।'
१९९७ मा सलमान खान अभिनीत 'जुडवा'को सिक्वलमा देखिन लागेका वरुणलाई सलमानसँग पनि तुलना गरिएको छ । यसमा वरुणले खुसी प्रकट गर्दै कमेडी जनराको यो फिल्मको काम आफ्नो लागि नयाँ र चुनौतीपूर्ण भएको अनुभव समेत सुनाए। जुडवा २ सेप्टेम्बर २९ मा रिलिज हुँदै छ ।
'स्टारडमको रेसमा छैन'
हरेकजसो फिल्म सफलताको स्वाद चाखे पनि वरुण आफूलाई स्टारडमको रेसमा रहेको मान्दैनन्।
'स्टारडम भनेको दर्शकहरुको शुभकामना हो र माया हो । यो बनाउन वर्षौं लाग्छ र यदि केही तलमाथि भयो भने त्यो गुम्न क्षणभर पनि लाग्दैन', उनी भन्छन् 'मैले जति माया पाएको छ, यसमा म खुसी छु।'
सुपरस्टार बन्न कम्तीमा पनि १०-१५ वर्ष लाग्ने भन्दै वरुण आफ्नो अहिलेको कामबाट आशावादी पनि सुनिए । उनी अगाडि भन्छन्, 'यदि अहिलेकै जस्तो करिअर चलिरहेमा रजनीकान्त, शाहरुख, सलमान, आमिर र अक्षय कुमार जस्तै सुपरस्टारको पंक्तिमा उभिन पनि सक्छु। बिबिसी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।