पेरिस– युवा फरवार्ड केलियन एमबाप्पे फ्रेञ्च च्याम्पियन मोनाकोबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) मा लोनमा आबद्ध भएका छन्।
युरोपियन ट्रान्सफर विन्डोको अन्तिम दिन पिएसजीले १८ वर्षीय प्रभावशाली फरवार्डसँग एकवर्षे अस्थायी सम्झौता गरेको हो।
पिएजसीले एमबाप्पेसँग स्थायी सम्झौता विकल्प पनि खुल्ला राखेको छ। विकल्पअनुसार उनी १ सय ८० मिलियन युरोमा सन् २०२२ सम्मका लागि आबद्ध हुन सक्नेछन्। यसअघि पिएसजीले ब्राजिलियन फरवार्ड नेयमारलाई बार्सिलोनाबाट २ सय २२ मिलियन युरोमा सम्झौता गरेको थियो।
पिएसजीमा आबद्ध भएपछि एमबाप्पेले उत्साहित भएको बताए। उनले भने, ‘पिएसजीको परियोजनामा योगदान दिन चाहान्छु, युरोपकै उत्कृष्ट क्लब बन्ने पिएसजीको अभियानमा संलग्न हुन पाउँदा खुसी लागेको छ।’
देशका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेको पहिलो दिन उनी पिएसजीमा आबद्ध भएका हुन्। एमबाप्पेले बिहीबार राति नेदरल्यान्ड्सविरुद्ध गोल गरेका थिए। एपबाप्पे सन् १९६३ पछि विश्वकप छनोटमा गोल गर्ने युवा खेलाडी बनेका थिए। खेलमा फ्रान्सले नेदरल्यान्ड्सलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।