कोलम्बो– सन् १९९६ को च्याम्पियन श्रीलंका सन् २०१९ को आइसिसी विश्वकप क्रिकेट प्रतियोगितामा सिधै छनोट हुन असफल भएको छ। बिहीबार भारतसँग भएको महत्वपूर्ण खेलमा १ सय ६८ रनले पराजित भएपछि श्रीलंका दुई वर्षपछि इंग्ल्यान्ड र वेल्समा विश्वकपमा सिधै छनोट हुन असफल भएका हो।
विश्वकपमा सिधै छनोट हुन श्रीलंकाले भारतविरुद्धको पाँच एकदिवसीय सिरिजमा कम्तीमा दुई खेल जित्नुपर्ने थियो। तर श्रीलंका लगातार चार खेलमा पराजित भयो। शीर्ष सात वरीयता प्राप्त टोली विश्वकपमा सिधै छनोट हुने व्यवस्था छ।
भारतविरुद्धका पाँचमध्ये दुई खेल जित्न असफल भए पनि श्रीलंकाका लागि विश्वकपमा छनोट हुन अन्तिम अवसर भने बाँकी छ। त्यसका लागि श्रीलंकाले भारतविरुद्धको पाँचौ खेल मात्र जितेर पुग्दैन वेस्ट इन्डिजले हार बेहोर्नुपर्ने हुन्छ। वेस्ट इन्डिजलाई भने विश्वकपमा छनोट हुन आगामी ६ एकदिवसीय मध्ये एक खेल जिते पुग्छ।
सन् २०१९ को विश्वकपमा आयोजक इंग्ल्यान्डसँगै अस्ट्रेलिया, बंगलादेश, भारत, न्युजिल्यान्ड, पाकिस्तान र दक्षिण अफ्रिका छनोट भइसकेका छन्। वेस्ट इन्डिज र श्रीलंकामध्ये एक टोलीले पनि सिधै छनोट पाउनेछन्। बाँकी दुई स्थानका लागि छनोट प्रतियोगिता हुनेछ। १० टोलीबीच छनोट प्रतियोगितामा जिम्बावे, आयरल्यान्ड र अफगानिस्तान, आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिपका शीर्ष चार टोली र आइसिसी डिभिजन–२ बाट दुई टिमबीच छनोट प्रतियोगिता हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।