काठमाडौं- सन्दीप लामिछानेले राष्ट्रिय टोलीको जर्सी लगाउन थालेको दुई वर्ष पनि पूरा भएको छैन। तर, उनको चर्चा नेपाली क्रिकेटमा धेरै अगाडिदेखि भइरहेको छ।
सन्दीपले २०७२ माघमा बंगलादेशमा भएको यू–१९ विश्वकपमा डेब्यु गर्दा सनसनी मच्चाएका थिए। त्यतिबेला उनकै उत्कृष्ट प्रदर्शनले नेपाल सुपर–८ मा समावेश हुन सफल भएको थियो। हाल टेस्ट राष्ट्रको मान्यता पाएको आयरल्यान्डविरुद्ध ह्याट्रिकसहित पाँच विकेट लिएपछि सन्दीप रातारात स्टार बन्न पुगेका थिए। दायाँ हातले बल घुमाउन पोख्त सन्दीपलाई आयरल्यान्डविरुद्धको खेलपछि अन्तर्राष्ट्रिय मिडियाले समेत ‘नेपाली– शेन वार्न’ को संज्ञा दिएका थिए।
अस्ट्रेलियाका धुरन्धर लेगस्पिनर वार्नसँग तुलना गरिएका उनै सन्दीप यतिबेला अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कसँगको विशेष सम्बन्धका कारण चर्चामा छन्। नेपालका सबै क्रिकेटरलाई विश्वविजेता कप्तानसँग संगत गर्ने मौका मिल्दैन। तर, क्लार्कसँग गहिरो सम्बन्ध बनाइसकेका सन्दीप भन्छन्, ‘यो अर्थमा म आफूलाई भाग्यमानी ठान्छु।’
क्लार्कसँग भेट्नुअघि सन्दीप उनको ठूलो प्रशंसक थिए। क्लार्कका खेल नछुटाई हेर्थे। ‘उनी स्पिरनविरुद्ध राम्रो ब्याटिङ गर्थे,’ क्लार्कलाई पछ्याउनुको कारण खुलाउँदै सन्दीप भन्छन्। सन् २०१५ को एसेस शृंखलामा पराजित भएपछि क्लार्कले अन्तर्राष्ट्रिय क्रिकेटबाट अचानक सन्यास लिए।
निरन्तर आफूले पछ्याइरहेका खेलाडीले एक्कासि सन्यास लिएपछि सन्दीप स्तब्ध बन्न पुगेका थिए। ‘उनी राम्रो खेलिरहेका थिए तर अचानक सन्यासको घोषणा गर्दा साह्रै नराम्रो लाग्यो,’ सन्दीप सम्झन्छन्। सन्दीपले मनलाई शान्त पार्न आफ्नो पुरानो ट्विटर एकाउन्टमा क्लार्कको सन्यासबारे ट्विट गरेका थिए।
‘सायद क्लार्क र मबीच त्यहि बेलादेखि नै केही न केही ‘कनेक्सन’ थियो होला। सायद त्यही भएर हुन सक्छ, उनले सन्न्यास लिँदा मलाई नराम्रो महसुस भयो,’ सन्दीप भन्छन्।
बंगलादेशमा भएको युवा विश्वकपपछि सन्दीपका लागि सिनियर टोलीमा मात्र होइन, विदेशी क्लबबाट पनि क्रिकेट खेल्ने प्रस्ताव आउन थाले। जसमध्ये हङकङबाट आएको एउटा प्रस्तावमा सन्दीप बढी नै हौसिए। किनभने त्यो प्रतियोगितामा क्लार्क पनि खेल्दै थिए। सन्दीपको खुसीको सीमा त्यतिबेला झन् बढ्यो, जब उनलाई फेरि खबर आयो। उनी खेल्ने क्लबको कप्तानी क्लार्क स्वयंले गर्दैछन्।
‘मलाई त सपना देखेजस्तो भइरहेको थियो,’ उनी भन्छन्। हङकङ टी–२० ब्लिट्ज–२०१६ मा कोलुन कान्टोन्सबाट खेल्न हङकङ पुगेको दिन, सन्दीप र क्लार्कको पहिलो भेट भएको थियो। पहिलो भेटमा दुवै खेलाडी त्यति खुल्न सकेनन्। सामान्य परिचय मात्र भयो। तर, टिम बैठकमा क्लार्कले सन्दीपबारे थप जानकारी पाए। यसपछि हौसिएका क्लार्कले विस्तारै सन्दीपको विषयमा चासो राख्न थाले।
उनको लागि एउटा रमाइलो संजोग पनि जुर्यो, जब सन्दीप क्लार्क बसेकै कोठा नजिक बस्न पुगे। ‘मेरो र क्लार्कको कोठा जोडिएको थियो,’ क्लार्कसँगको पहिलो भेट सम्झदै सन्दीप भन्छन्, ‘नेट सेसनमै क्लार्कले मेरो खेलको प्रशंसा गरे, मलाई राम्रो लाग्यो।’
क्लार्क सन्दीपलाई क्रिकेटको टिप्स दिइरहन्थे। ‘उनी मलाई क्रिकेटमा केन्द्रित हुन सुझाव दिन्थे,’ उनले भने। सन्दीपको बलिङबाट प्रभावित क्लार्कले त्यतिबेलै उनलाई अस्ट्रेलियाको घरेलु क्रिकेट खेल्न प्रस्ताव गरेका थिए।
सन्दीप र क्लार्कबीचको सम्बन्ध यति गहिरो भइसकेको छ कि क्लार्कले पछिल्लो समय उनलाई तीन वटा उपनाम दिइसकेका छन्। सन्दीपलाई क्लार्क ‘मेट’ भनेर बोलाउन बढी रुचाउँछन्। ‘लिटिल स्टार’ र ‘लिट च्याम्प’ पनि क्लार्कले नै जुराइदिएको उपनाम हो। अस्ट्रेलिया बसाइका क्रममा सन्दीप क्लार्कको घर गइरहन्थे। क्लार्ककी श्रीमतीले आफ्नो बारेमा सबै कुरा थाहा पाएको देखेर सन्दीप तीनछक परेका थिए।
‘मैले खेल तालिका हेरेर अस्ट्रेलिया आउने जवाफ दिएको थिए,’ उनी भन्छन्।
नेपाल फर्किएपनि सन्दीप निरन्तर क्लार्कको सम्पर्कमा रहे। यही क्रममा क्लार्कले आफ्नो एकेडेमीमा क्रिकेट सिक्न र ए श्रेणीको क्रिकेट खेल्न उनलाई निम्तो पठाए। सन्दीप अस्ट्रेलिया खेल्न आउन लागेको खबर सबैभन्दा पहिले क्लार्कले आफ्नो ट्विटरमार्फत सार्वजनिक गरेका थिए। यसपछि सन्दीप र क्लार्कको सम्बन्धले अन्तर्राष्ट्रिय चर्चा पाएको थियो। अस्ट्रेलिया र नेपालको मिडियाले मात्र होइन, भारतीय मिडियाले पनि सन्दीपको विषयमा समाचार प्रकाशित गरेका थिए।
सन्दीप अस्ट्रेलिया पुग्दा विमानस्थलमा उनलाई स्वागत गर्न नेपाली समर्थकभन्दा अगाडि क्लार्क पुगेका थिए। ‘विश्वविजेता टोलीका कप्तान क्लार्क मलाई स्वागत गर्न एयरपोर्टमा उभिएको देखेर म छक्क परेँ। मेरो लागि योभन्दा ठूलो सम्मान अरु केही हुन सक्दैन,’ सन्दीप त्यो बेलाको खुसी शेयर गर्छन्।
अहिले सन्दीप र क्लार्कबीचको सम्बन्ध झन् बाक्लिएको छ। पछिल्लो समय दुईबीच क्रिकेटको विषयमा मात्र होइन, व्यक्तिगत र पारिवारिक विषयमा पनि कुराकानी हुन्छ। पहिले सन्दीप क्लार्कको खेल पछ्याउँथे। रमाइलो कुरा, अहिले क्लार्क सन्दीपको हरेक खेल पछ्याउँछन्। सिंगापुरमा गत महिना युथ–१९ विश्व कप छनोटमा सन्दीपले मलेसियाविरुद्ध ७ विकेट लिएपछि क्लार्कले सामाजिक सञ्जालमार्फत बधाई दिने क्रममा लेखे, ‘गुड ब्वाई। ह्याप्पी फर हिम।’
क्लार्कको उमेर सन्दीपभन्दा दोब्बर छ। तर, क्लार्क उनलाई आफ्नो दौंतरीजस्तो व्यवहार गर्छन्।
‘उमेरले मभन्दा दोब्बर भए पनि हामी निकै नजिक छौं, समाजिक सञ्जालमार्फत प्राय: हाम्रो कुरा हुन्छ’, सन्दीप भन्छन्, ‘क्रिकेटबाहेक सामान्य कुरामा नोकजोक भइरहेको हुन्छ।’
सन्दीप र क्लार्कबीचको सम्बन्ध यति गहिरो भइसकेको छ कि क्लार्कले पछिल्लो समय उनलाई तीन वटा उपनाम दिइसकेका छन्। सन्दीपलाई क्लार्क ‘मेट’ भनेर बोलाउन बढी रुचाउँछन्। ‘लिटिल स्टार’ र ‘लिट च्याम्प’ पनि क्लार्कले नै जुराइदिएको उपनाम हो। अस्ट्रेलिया बसाइका क्रममा सन्दीप क्लार्कको घर गइरहन्थे। क्लार्ककी श्रीमतीले आफ्नो बारेमा सबै कुरा थाहा पाएको देखेर सन्दीप तीनछक परेका थिए।
‘क्लार्कले मेरो बारे आफ्नी श्रीमतीलाई सबै बताएका रहेछन्,’ उनले भने, ‘मलाई देख्नेबित्तिकै उहाँ उत्साही हुनुभयो।’
क्लार्कको निमन्त्रणामा अस्ट्रेलिया पुगेका सन्दीपको इच्छा छ, क्लार्कलाई पनि नेपालमा बोलाउने। ‘मैले पनि उनलाई नेपाल आउने निम्तो गरेको छु,’ सन्दीपले भने, ‘उनले पनि फुर्सद निकालेर नेपाल आउने वचन दिएका छन्।’
क्लार्कको मानवीय पक्षबाट प्रभावित सन्दीप पनि उनीजस्तै बन्न चाहन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।