भारतीय च्यानल सोनीमा प्रायः देखिने कमेडियन हुन्, सुदेश लेहरी । वास्तविक जीवनमा उनी कमेडियन मात्र होइनन्, राम्रा गायक पनि हुन्।
उनलाई भेट्न त्यति गाह्रो भएन । कारण उनी बलिउडका अर्का हास्य कलाकार कृष्णाका परम मित्र भएका कारण उनलाई भेट्ने अवसर पनि उनैले जुराइदिएका थिए।
सुदेशको मुम्बईस्थित अपार्टमेन्टमा म्युजिक इन्स्ट्रुमेन्टको सेट नै छ । बैठककोठाको ढोका छेउमा पियानो छ । छेउमा माइक राखेका छन् । उनी दिनहुँ घरमा रियाज गर्ने गर्दा रहेछन्।
पहिलो भेटमै उनले आफ्नो चिरपरिचित कमेडियन बानी देखाइहाले । भने, ‘सस्रियाकालजी !’ उनको पहिलो प्रश्न थियो, ‘के पिउने ब्रान्डी या ब्ल्याक लेबल।’
उनलाई मैले तपाईसँगको भेट नै पर्याप्त छ भन्दा उनी दंग थिए । उनको विषयमा गफ गर्न बस्नुअघि नै उनले भने, ‘नाई, पहिले गीत गाउँछु है । यसपछि गफ गर्न भूमिका बन्छ।’ उनले पहिलो भेटमै मलाई प्रभावित तुल्याउन गाए, ‘चल चलो काठमाडौं, वही मिलेङ्गे शम्भु।’
निकट मित्र कृष्णसँग अभिनय गर्दै सुदेश
बलिउडका अन्य कलाकार जस्तै सुदेशलाई पनि पशुपतिनाथको दर्शन गर्ने ठूलो इच्छा रहेछ । सुदेश वास्तवमा पन्जावको एउटा गाउँमा जन्मिएर मुम्बई आएका थिए । हिन्दी फिल्ममा उनको पहिलो इच्छा थियो, कमेडियन नभई गायक बन्ने । उनले यसका लागि धेरै स्टुडियो चहारे पनि । तर, कत्तै काम नपाएपछि उनले पेट पाल्नका लागि कमेडीलाई आधार बनाए । जुन अहिले बलिउडमा हिट मानिन्छ।
उनी जीवनमा आफूले भोगेको कठिनाइमा पनि कमेडी गर्न सक्छन् । हाँसउठ्दो पारामा नेपालका पुरानो उखानको सहयोग लिँदै भने, ‘जीवनमा हरेश नखानु तर चरेश खानु।’ मुम्बईमा दुःखको दिन काटेर होला, उनलाई धेरै कुराको अनुभव भएको छ । त्यसैले उनी भन्छन्, ‘जिन्दगीमा रम्न सिक्नुपर्छ।’
सुटिङको व्यस्तताले गर्दा छोटो समयका लागि भेट भएका सुदेश छुट्टिने बेला भन्दै थिए, ‘हामीलाई पनि देऊ नेपाल आउने निम्तो ।’ उनको जीवनको सबैभन्दा ठूलो इच्छा काठमाडौं आएर पशुपतिनाथको दर्शन गर्ने रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।