काठमाडौं- मुग्लान नेपाली समाजको पहिल्यैदेखिको बाध्यता हो। फरक यति रह्यो यसको स्वरूपमा परिवर्तन आयो। भारतीय उपमहाद्वीपको 'लाहुरे' बाट यो मलाया, खाडी हुँदै 'डायस्पोरा'को नाममा बदलियो। यसले समाजको संरचना, मनोविज्ञान सबै फेरिदिएको छ। गत वर्ष नेपाली बक्स अफिसमा सर्वकालीन कमाइ गरेको 'छक्का पञ्जा'को सिक्वल बुधबार रिलिज भएको छ।
वकिल (प्रियंका कार्की) आमा र वृद्धाश्रम चलाइरहेको बाबु (शिवहरि पौडेल) की एक्ली छोरी आकाक्षां (स्वस्तिमा खड्का) जसरी पनि अस्ट्रेलिया जान चाहन्छिन्। तर, आइएलटिसको न्यून स्कोरका कारण उनको सपनाले उडान भर्दैन। उनले नक्कली विवाह गरेर अस्ट्रेलिया जाने बाटो रोज्छिन्। उनको जीवनमा प्रज्ज्वल (स्वरूपपुरूष ढकाल) अस्ट्रेलिया जाने केटाका रूपमा प्रवेश गर्छ। ऊसँग आकाक्षाले नक्कली विवाह गर्छे।
विवाह दर्ताको कागज लिन सुटुक्क गाउँ गएका बेला प्रज्ज्वलकी आमाले थाहा पाएपछि छोराको विवाह गरेर नाती खेलाउने सपना देखेकी उनले बुहारीलाई बाजा बजाएर घर भित्र्याउँछिन्। छोरी घरबाट ३ दिन हराएपछि पिरोलिएकी आमाले छोरीको रहस्य थाहा पाउँछिन्। आफ्नो बाटोमा तगारो बनेकी आमा विरूद्ध आकांक्षाले विद्रोह गर्छे र घर छोडिदिन्छे। यस्तै आकांक्षालाई फेरि भिसा लाग्दैन। यहीबेला एउटा घटना हुन्छ, जसले फिल्मको सारा कथा अगाडि बढाउँछ।
त्यसपछि नक्कली विवाह र मानिसको स्वार्थ बाझिएपछि उनीहरूले चाल्ने कदमले युरोप, अमेरिका अस्ट्रेलिया जाने नेपाली युवाको सपना प्राप्तिका लागि हुने खेलका विभिन्न पाटोको रहस्य फिल्मले खोल्छ।
फिल्मले नेपाली समाजकै युवाको मौलिक कथालाई पेस गरेको छ। विदेश मोहका क्रममा हाम्रै घरसमाजमा घटेका र समाचार बनेका घटनालाई फिल्मले हँसाउँदै र व्यंग्य कस्दै भनेको छ। दुई घन्टा २५ मिनेट लामो फिल्मले दर्शकलाई मनोरञ्जन दिन्छ। दर्शकलाई फिल्मको कथा र पटकथामा आउने ट्विस्टले बाँधिराख्छ। विशेषगरी फिल्मको संवाद र कलाकारको अभिनयले दर्शकको मन जित्छ।
पहिलो सिक्वलमा जस्तै यसमा अभिनयका हिसाबले फिल्ममा 'मामा' बनेका केदार घिमिरे उर्फ माग्ने बुढाले दर्शकलाई फिल्मभरि विशेष प्रभावित बनाउँछन्। फिल्म हेरेर निस्कँदा उनी दर्शकको मनमा बसिसकेका हुन्छन्। यस्तै जितु नेपालको हाउभाउ र संवादले पनि दर्शकलाई हसाउँछ। आकांक्षाको भूमिकामा स्वस्तिमा खड्काले आफ्नो चरित्रलाई अत्यन्त राम्रोसँग उतारेकी छिन् भने बिनीको भूमिकामा वर्षा राउत स्वभाविक देखिएकी छन्।
यस्तै नयाँ प्रस्तुति स्वरूपपुरूष ढकाल आफूलाई नयाँ सम्भावनाका रूपमा प्रस्तुत गर्न फिल्ममा सफल छन्। प्रज्ज्वलकी आमाको भूमिकामा अभिनय गरेकी लक्ष्मी गिरीले पनि दर्शकलाई राम्रो छाप छोड्छिन्। वकिल र आमाको भूमिकामा प्रियंकाले आफ्नो चरित्रलाई पर्दामा 'इन्टेन्स' राखेकी छन्। अन्य कलाकारले पनि आफ्नो पात्रलाई न्याय गरेका छन्।
फिल्मको संवाद तारिफयोग्य छ। दर्शकलाई हँसाउनमा संवादले भूमिका खेलेको छ। यस्तै निर्देशनको कोणबाट दीपाश्री निरौलाले राम्रो काम गरेकी छन्। उनले फिल्ममा कमेडी र ड्रामालाई सन्तुलित ढंगले पेस गरेकी छन्। फिल्मका दुई गीतले कथाको लयलाई बिगारेका छैनन्। सम्पादन, ब्याकग्राउन्ड स्कोरले फिल्मलाई माथि उठाउने काम गरेको छ।
सिक्वल फिल्ममाथि मडारिने खतरा भनेको यो धेरैजसो अवस्थामा पहिलोको दाँजोमा कमै राम्रो हुने उदाहरण छ। फिल्मले त्यसबाट आफूलाई पर राखेको छ। पहिलो सिक्वलमा वैदेशिक रोजगारलाई विषय बनाएको फिल्मले यसपटक पश्चिमा देशमा जाने युवा जमातको कथा पस्केको छ। समग्रमा फिल्म हेरुन्जेल दर्शकलाई बाँधिराख्न सक्नेगरी 'छक्का पञ्जा २' बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।