वीरगञ्ज- 'रहबर' उर्दू शब्द हो, जसको अर्थ हुन्छ- नेतृत्वकर्ता वा मार्गदर्शक।
आफ्नो यही नामलाई साकार पार्न रहबर अन्सारी वीरगञ्ज महानगरपालिकाको मेयर पदका लागि प्रतिस्पर्धाका उत्रिएका छन्। असोज २ गते हुने प्रदेश–२ को स्थानीय तहको निर्वाचनमा उनी माओवादी केन्द्रको तर्फबाट उम्मेदवारका रुपमा खडा भएका हुन्।
वीरगञ्जका मतदातालाई उनले मेट्रो र मोनो रेलको सपना देखाएका छैनन्। बरु सडक, गल्ली र बजारको फोहोर व्यवस्थापन कसरी गर्न सकिन्छ, त्यसतर्फ ध्यान केन्द्रित गरिरहेका छन्। रहबरलाई आफू जन्मे-हुर्केको सहरको मुहार फेर्ने ठूलो रहर छ।
माओवादी केन्द्रको जिल्ला कमिटी सदस्य उनलाई भदौ २ गतेको पार्टी निर्णयले उनलाई वीरगञ्ज महानगरको मेयर उम्मेदवार घोषणा गरेको हो। पर्सा जिल्लामा माओवादी केन्द्रको छाप भने त्यति राम्रो छैन। ‘स्थानीय चुनावमा पार्टीलाई भन्दा पनि व्यक्तिलाई महत्व दिनुपर्छ,’ उनको आफ्नै तर्क छ, ‘उम्मेदवारको योग्यता र क्षमतालाई चिन्नुपर्छ।’ रहबर माओवादी केन्द्र अन्तर्गतको मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय सदस्य पनि हुन्।
सात वर्षअघि माओवादीमा प्रवेश गरेका उनी अहिले त्यही पार्टीबाट नेपालको कान्छो महानगरपालिकाको कान्छो प्रतिस्पर्धी मेयरका रुपमा मतदातासँग भेटघाट गरिरहेका छन्।
‘मैले जिते भनेँ वीरगञ्ज बदलिएर स्विटजरल्यान्ड नै बन्छ भन्ने दाबी म गर्दिनँ,’ ३१ वर्षीय रहबर भन्छन्, ‘तर वीरगन्जको विकासमा लागेको भोटेताल्चा चाहिँ पक्कै खोल्छु।’ वीरगञ्ज क्षेत्रको कृषिमा सुधार र वैज्ञानिकीकरण गर्ने उद्देश्य बोकेका उनी आफू मेयर निर्वाचित भएमा पर्साका खेतहरुलाई वीरगञ्ज महानगरले आफैं एक वर्षका लागि लिएर खेती गर्ने योजना बनाएका छन्। राजनीतिमा एकछिन देखा परेर भोलि नै हराउने उद्देश्यले राजनीतिमा नआएको उनको भनाइ छ।
रहबरले सात वर्षअघि वीरगञ्जको गण्डकमा सय शय्याको ‘गण्डक अस्पताल’ खोलेर आफ्नो व्यवसायको सुरुवात गरे। त्यसअघि चितवनको मेडिकल कलेजमा उनले डेढ वर्ष काम गरेर अनुभव बटुलिसकेका थिए। रहबरका बुवा चिकित्सक हुन्। चाहेको भए उनी पनि चिकित्सक बन्न सक्थे तर रोजे फरक बाटो राजनीतिको।
उनको विचारमा अयोग्य र अरु कुनै पेसा वा सीप नजानेका बेरोजगारहरु राजनीतिमा आएकाले नै यो क्षेत्र बदनाम भएको हो। उनी आम जनतामा रहेको यही सोच बदल्न चाहन्छन्।
युरोपको सेन्ट्रल युरोपियन विश्वविद्यालयबाट पब्लिक पोलिसी एन्ड गभर्नेन्समा मास्टर्स गरेका रहबर ओएफआइडीमा नेपालबाट छानिएका दोस्रो स्कलर पनि हुन्। ओएफआइडीले विश्वभरबाट आएका आवेदनमध्ये २० हजारबाट पाँच जनालाई छनोट गर्छ। पढाइ र विभिन्न तालिमको सिलसिलामा रहबरले अहिलेसम्म १९ वटा देशको भ्रमण गरिसकेका छन्। ‘भ्रमणका दौरान त्यहाँका शासक र मेयरसँग उनीहरुको देश विकास सम्बन्धी नीतिको बारेमा गम्भीर छलफल गर्ने मौका पाएँ,’ उनी भन्छन्, ‘म पनि विकास निर्माणका लािग त्यस्ता सफल नीति यहाँ लागू गर्न चाहन्छु।’
काठमाडौंको ग्यालेक्सी स्कुलबाट एसएलसी गरेका रहबरले भारतको पुनामा रहेको सिम्बोसिस इस्टिच्युटबाट बिबिए गरेका हुन्। अलि लजालु स्वभावका उनी वीरगन्जका अन्य मेयर उम्मेदवारभन्दा प्रचारप्रसारमा पछि देखिएका छन्। ‘सोसल मिडियामा त्यति प्रचारित छैन, तर पनि म आफ्ना मतदाताहरुको सम्पर्कमा छु। प्रचारभन्दा पनि बढी क्वालिटी टाइममा विश्वास गर्छु म,’ उनले हाँस्दै भने। त्यही भएर होला बाढीले आक्रान्त पारेको पर्साका विभिन्न गाउँमा अन्य उम्मेदवार राहत सामग्री बाँडेको प्रचार जसरी फेसबुकमा गरिरहेका थिए, उनी त्यसरी कतै देखा परेनन्। बाढीपीडितको राहतका लागि व्यस्त भएकाले चुनावी प्रचारप्रसारमा अझै पनि खट्न नसकेको उनले बताए।
गर्भवती महिलाप्रति संवेदनशील रहबर आफूलाई मतदाताले निर्वाचित गराए बिरामी महिलाका लागि निःशुल्क सवारीसाधनको व्यवस्था गर्ने प्रतिबद्धता जनाउँछन्। विजयी भए वृद्धभत्ता बढाइहाल्ने सोचमा छैनन् उनी, बरु वृद्धवृद्धाले पाउँदै आएको भत्तालाई कसरी घरमै पुर्याउन सकिन्छ; त्यो योजना बुनिरहेका छन्।
आफू निर्वाचित भए ससाना कामबाटै अघि बढ्ने सुनाउँदै उनले योजनाको पोको खोले, ‘वीरगञ्ज महानगरको आय-व्यय पारदर्शी बनाउनुका साथै यहाँको अव्यवस्थित बजारलाई व्यवस्थित गर्न जरुरी छ।’ तरकारी, फलफूल र माछामासुको बजारलाई छुट्टाछुट्टै बनाउने र तिनलाई विदेशमा झैं सजाएर राख्नेबारे सम्बन्धित व्यापारीलाई तालिम पनि दिने उनको योजना छ।
वीरगञ्ज बजारबाट हरेक दिन माछामासुको अव्यवस्थित बिक्री र सफाइबाट चार सय टन फोहर निस्किन्छ। उनले यो फोहोरलाई मलमा रुपान्तरण गर्नेबारे सोचिसकेका छन्। ‘यो फोहोरलाई नगरपालिकाले खाल्डोमा व्यवस्थित गरेर मल निकाल्न सक्छ,’ उनी भन्छन्, ‘जुन मल किसानलाई बेचेर महानगरपालिकाले अतिरिक्त आम्दानी गर्न सक्छ।’
यहाँका उबडखाबड गल्लीको सुधार गर्ने, सरकारी स्कुलमा बच्चालाई स्कुल समयमा खानाको व्यवस्था गर्न पहल गर्ने, जिल्लामा रहेका विभिन्न मठ, मन्दिरका पूजारी, मस्जिदका मौलवी र चर्चका पादरीहरुको मासिक तलबको व्यवस्था गर्ने लगायतका योजना पनि उनले सुनाए। ‘यी पूजारी, मौलवी र पादरीलाई सरकारी कर्मचारी सरह मासिक तलब दिने हो भने धार्मिक स्थलहरुको संरक्षणमा उनीहरुको पनि जिम्मेवारी बढ्छ,’ उनले सुनाए।
सरकारी निकायको अपारदर्शी कामकारबाहीबारे असन्तुष्ट रहबर आफूले जितेमा सबैभन्दा पहिलो काम नै पारदर्शितालाई अपनाउने बताउँछन्।
आगामी चुनाव रहबरका लागि परीक्षा पक्कै हो। किनकि उनले भित्रभित्रै निकै तयारी गरिरहेका छन्।
पराजित हुनुभयो भने नि? भन्ने प्रश्नमा उनी प्रस्ट पार्छन्, ‘म हतास र निराश बन्दिन। नीति निर्माणमै ध्यान दिइरहेको हुनेछु। चुनावी परीक्षामा त छु, तर यो नै अन्तिम चाहिँ होइन।’
चुनाव लक्षित रहबरको भिडियो:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।