आमिर खान अभिनित हिट फिल्म ‘रंग दे बसन्ती’, शाहरुख खान र ऐश्वर्या राय अभिनित सुपरहिट फिल्म ‘देवदास’, सञ्जय दत्त अभिनित लोकप्रिय फिल्म ‘मुन्नाभाइ एमबिबिएस’, ऋतिक रोशन अभिनित ‘मिसन कास्मिर’ लगायत दर्जनौ बलिउड फिल्मलाई क्यामरामा उतार्ने चर्चित क्यामरामेन को हुन्? के तपाईहरुलाई थाहा छ ?
उनी हुन्, नेपालीभाषी दार्जीलिङ्गे विनोद प्रधान। जसको बलिउडमा अहिले सबैभन्दा ठूलो ‘डिमान्ड’ छ। क्यामरामा फिल्मका क्यारेक्टर र सिनलाई उतार्न उनलाई माहरत नै हासिल छ। त्यसैले उनी बलिउडका नम्बर एक क्यामरामेन मानिन्छन्।
उनले महिमा चौधरी अभिनित स्वदेश, धर्मेन्द्रका दुई छोरा सन्नी र बबी देवलको तिकडी जोडीलाई ‘यमला पगला दिवाना’मा क्यामेरामा उतारेका थिए। अझ, ‘१९४२ अ लव स्टोरी’ मा उनको कामको खुब प्रसंसा भयो। भारतका चर्चित धावक मिल्खा सिंहको जीवनीमा बनेको ‘भाग मिल्खा भाग’ बायोपिकमा उनको क्षमता अझै शशक्त रुपमा प्रस्तुत भयाे।
विनोद दार्जीलिङको कालिङपुङमा जन्मिएका हुन्। बाल्यकालदेखि नै उनलाई क्यामराको ठूलो सोख थियो। कालिङपुङमा रहेको आफ्नो बुवाको सानो फोटो स्टुडियोमा हात समातेर जाँदा–जाँदै उनी कतिबेला क्यामेरा चलाउने भए, उनलाई पत्तै भएन।
स्कुल पढ्न जाँदा उनी बुवाको क्यामरा लुकाएर झोलामा हाल्थे र कालिङपुङको सौन्दर्यतालाई क्यामरामा कैद गरेर फर्किन्थे। उनी कहिले पहाड, कहिले हिमाल त कहिले रुखहरुको फोटो खिच्थे।
कहिलेकाहिँ उनको रुची आकाशमा उड्ने चरा हुन्थ्यो भने कहिले भीरमा चरिरहेका गाई र भैसी हुन्थे। विनोद त्यति बेलादेखि नै ‘ब्ल्याक एन्ड वाइट’ फोटोलाई रंग दलेर रंगीन बनाउन खोज्थे।
उनलाई सानैदेखि लाग्थ्यो, कुनै पनि चिजको महत्व त्यसको ‘ओर्जिनल भर्सन‘मा हुन्छ। त्यसैले उनी १४ वर्षको उमेरमै क्यामरासम्बन्धि तालिम लिन भारतको पुनेस्थित एफटिआइआई इन्सिच्युट पुगेका थिए।
यही उनको भेट बलिउडका फिल्म निर्देशक प्रेम सागरसँग भएको थियो। प्रेम त्यतिबेला सुपरभिजनका लागि विनोद पढ्दै गरेको एफटिआइआईको कक्षा कोठा पुगेका थिए। उनी विनोदको मेहनत र खुबीबाट निकै प्रभावित भए। उनले तत्कालै विनोदलाई आफ्नो सहायकको प्रस्ताव गरे।
प्रस्ताव राम्रो थियो। फुरुङ्ग परेका विनोद त्यहीबाट मुम्बई हानिए। दिनप्रति दिन राम्रो गरेका विनोद आफू बलिउडमा सफल हुनुमा श्रीमती डलीको पनि ठूलो हात रहेको बताउँछन्।
मुम्बईस्थित उनको अपार्टमेन्टमा भेट हुँदा भन्दै थिए, ‘मुम्बईमा ठूलो बजेटको फिल्म बन्ने गर्छन्। त्यसैले यहाँ बढि नै प्रोफेसनल बन्नुपर्छ।’
विनोदले केही नेपाली फिल्ममा पनि काम गरे। उनी नेपाली फिल्ममा काम गर्दाको दिन सम्झँदै भन्छन्, ‘नेपालमा फिल्ममा काम गर्दा पिकनिक गए जस्तो रमाइलो हुन्थ्यो। म कहिले काँही ती दिन सम्झेर रोमाञ्चित हुने गर्छु।’
विनोदले बलिउडमा काम गर्दा सन् २००३ मा देवदास, २००७ मा 'रंग दे वसन्ती'का लागि उत्कृष्ट सिनेमाटोग्राफरको फिल्म फेयर अवार्ड जितेका थिए। यस्तै उनले देवदासका लागि अन्तर्राष्ट्रिय इन्डियन फिल्म एकेडेमी अवार्ड पनि जितेका थिए।
बलिउडमा उनको काम गर्ने शैली अरुभन्दा पृथक छ। त्यसैले उनी बलिउडका अन्य कलाकारभन्दा अब्बल देखिएका छन्। उनले यो स्थान बनाउन थुप्रै हन्डर खानु परेको थियो।
कतिपय बलिउडकर्मी उनलाई 'मुडी'को संज्ञा दिन्छन्। यसमा उनी पनि सहमत छन्। ‘काममा दत्तचित्त भएर लाग्नु पर्छ। काम गर्दा ध्यान पुर्याउन सकिएन भने आफ्नो नाम बदनाम हुन्छ। त्यसैले म हत्तपत्त कुनै कुरामा कम्प्रोमाइज गर्दिनँ,’ उनले भने।
मुम्बईको मेघदूत अपार्टमेन्टमा बसोबास गर्ने विनोदले धेरैपल्ट नेपाल र नेपालका सहकर्मीलाई मिस गरेका रहेछन्। उनलाई अहिले पनि काठमाडौंको गल्ली घुमेको याद छ। उनी नेपाली कलाकार निकै आँटिलो भएको बताउँछन्। भन्छन्, ‘त्यो आँटमा विवेकको समिश्रण भयो भने नेपाली फिल्म इन्डस्ट्रीले सफलता चुम्न सक्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।