यस वर्षको बाढी-पहिरोमा १९ विद्यार्थीको मृत्यु

नेपाल लाइभ | २०७४ भदौ १७ शनिबार | Saturday, September 02, 2017 ११:५२:०० मा प्रकाशित

काठमाडौं– विभिन्न जिल्लामा आएको बाढी-पहिरोका कारण १९ विद्यार्थीको मृत्यु भएको छ । शिक्षा मन्त्रालयका अनुसार, पहाडी जिल्लामा आएको पहिरो तथा तराई जिल्लामा आएको बाढीका कारण  सिन्धुली, डोटी, सुर्खेत, बारा, दाङ, कैलाली, सर्लाही, बाँके, सिरहा, सप्तरी, धनुषा, मकवानपुर र चितवनका विद्यार्थीको मृत्यु भएको हो। 

बाढी-पहिरोका कारण ती जिल्लाका ५ सय विद्यालयको भौतिक संरचनामा क्षति पुगेको छ । बाढी प्रभावित जिल्लाहरुका कतिपय विद्यालयमा अझैसम्म पठनपाठन सुरु हुन नसकेको मन्त्रालयले जनाएको छ । बाढी प्रभावितहरुले विद्यालयहरुमा आश्रय लिएका कारण कक्षा सञ्चालन हुन नसकेको हो।

‘सप्तरीका ३८ विद्यालयमा करिब २ करोड र धनुषाका २६ विद्यालयमा करिब ६६ लाख क्षति भएको छ,’ मन्त्रालयका सूचना अधिकारी सरस्वती पोखरेलले जानकारी दिइन्। रासस