मुम्बई– काठमाडौंको पशुपतिस्थित गौशालामा जन्मिएका जितु सिंह बलिउडमा कहलिएका फाइट मास्टर हुन्। उनले हालसम्म सयाै हिन्दी फिल्ममा ‘स्टन्ट’ गरिसकेका छन्।
बलिउडका ‘बिग बी’ अमिताभ बच्चनको सन् १९७९ मा रिलिज फिल्म ‘मिस्टर नटवरलाल’ बाट सुरु भएको उनको फिल्मी करिअर १९९९ मा समाप्त भएको थियो। जब अजय देवगनको फिल्म ‘हिन्दुस्तान कि कसम’ मा डुप्लिकेटका लागि स्टन्ट गर्दा उनको ढाड फ्याक्चर भयो। यसपछि उनले स्टन्ट गर्न छोडे।
जितुले मनोज बाजपेयीको लागि फिल्म ‘पक्षी’, सुनिल दत्तका लागि ‘ऐ आग कब बुझेगी’, राजकपुरका लागि ‘गलियोका बादशाह’, धर्मेन्द्रका लागि ‘गजब’, ऋषि कपुरका लागि ‘प्रेम रोग’, अजय देवगनका लागि ‘जिगर’, हेमा मालिनीका लागि ‘अन्धा कानुन’, श्रीदेवीका लागि ‘रुप कि रानी चोरोका राजा’ मा फाइट मास्टरको भूमिका निर्वाह गरेका थिए।
अझ, उनले १९९३ मा बलिउड ‘बादशाह’ शाहरुख खानका लागि ‘किङ्स अंकल‘ मा र आमिर खानका लागि ‘मेला’ मा स्टन्ट गरेका थिए।
७० दशकको अन्त्यदेखि बलिउडमा सक्रिय जितु स्टन्ट गर्दा धेरै पल्ट ठूलो दूर्घटनामा पनि परेका छन्। तर, उनले हिन्दी सिनेमामा आफ्नो छाप राख्ने जुनुनका कारण यी सबैलाई खासै वास्ता गरेनन्।
‘फिल्म ‘ऐ आग कब बुझेगी’ मा स्वर्गीय सुनिल दत्तको डुप्लिकेट गर्दा ९० मिनेटसम्म शरीरमा आगो लागेको थियो। यस कारण ३ दिनसम्म दुबै आँखा बन्द भयो,’ राजु भन्छन्, ‘अजय देवगनको हिन्दुस्तानकी कसम गर्दा ढाड भाँचियो। यसपछि स्टन्ट गर्न छोडे।’
नेपालमा ४० वर्ष अगाडि फाट्टफुट्ट मात्र फिल्म बन्थ्यो। त्यतिबेला नै उनले हिन्दी फिल्मको हिरो बन्ने सपना देखेका थिए।
‘सपना देखे जस्तो कहाँ हुन्थ्यो र। धेरै दुःख पाए,’ पहिलो पल्ट मुम्बई पुगेको कहानी सुनाए उनले। उनी मुम्बई जाँदा उनको उमेर थियो, १८ वर्ष।
उनी मुम्बईको चर्चित जुहु चौपाटीमा नियमित एक्सरसाइज गर्थे। एकदिन मर्निङ वाकका क्रममा उनको भेट भएछ, अजय देवगनका बुवा विरुसँग।
विरु आफै फाइट मास्टर। जितुको एक्सरसाइजबाट प्रभावित विरुले उनलाई आफ्नो टेलिफोन नम्बर दिएछन्।
‘उहाँले पहिलो पल्ट मलाई घर कहाँ हो भनेर सोध्नु भयो। यसपछि सधै यहाँ (जुहु चौपाटी) हातखुट्टा किन बजार्छो भनेर सोध्नु भयो, ’ बलिउडमा आफ्नो इन्ट्रीको विषयमा जानकारी दिँदै उनी भन्छन्, ‘मैले उहाँलाई सर हिन्दी फिल्म खेल्न नेपालबाट आएको भने। उहाँले आफू फिल्म बनाउने मान्छे, घरको नम्बर राख भनेर नम्बर दिनुभयो।’
त्यतिबेला मोबाइलको जमाना थिएन्। उनी भोलीपल्टै विरुलाई भेट्न उनले दिएको ठेगानामा पुगे। यतिबेला विरु ‘मिस्टर नटवरलाल’ गर्न लागेका थिए। विरु कै सिफारिसमा जितु मुम्बईबाट पहिलो पल्ट प्लेन चढेर कास्मीरमा स्टन्ट गर्न गए।
‘मसँग त्यतिबेला भात खाने पैसा पनि हुदैन्थ्यो। तर, मिस्टर नटवरलालमा अमिताभको डुब्लिकेटको भूमिका निर्वाह गरेबापत एक मुष्ट १६ हजार रुपैयाँ प्राप्त गरे,’ उनले विगत सम्झिए, ‘यही पैसाबाट फाइट मास्टर भनेर ७ सय ५० रुपैयाँको कार्ड पनि बनाए।’
जितुले हालसम्म ३ सय ५० भन्दा बढि फिल्ममा डुप्लिकेटको काम गरिसकेका छन्। ढाडको समस्या भए पनि उनी भोजपुरी फिल्ममा सक्रिय छन्। उनलाई आफ्नो काममा कुनै पछुतो छैन्। बरु ढाडको समस्या भए पनि उनी नेपालको परिचय बलिउडमा स्थापित गर्न सफल भएकोमा दंग छन्। भन्छन्, ‘तपाईहरु जहाँ भए पनि जुन पेशा अंगाले पनि काममा दत्तचित्त हुनुपर्छ। यसैले मानिसलाई परिचय दिलाउँछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।