प्राग- विश्वविजेता जर्मनी आगामी वर्ष रसियामा हुने विश्वकप फुटबल प्रतियोगिताको छनोट नजिक पुगेको छ।
युरोप छनोट अन्तर्गत समूह ‘सी’को खेलमा चेक गणतन्त्रलाई २–१ ले पराजित गर्दै जर्मनीले विश्वकप छनोट यात्रालाई बलियो बनाएको हो। जर्मनीलाई जित दिलाउने क्रममा टिमो वेर्नेरले चौथो तथा मार्ट हुमेल्सले ८८औं मिनेटमा गोल गरे। हुमेल्सले निर्णायक गोल गर्नुअघि चेकका डारिडाले ७८औं मिनेटमा बराबरी गोल फर्काएका थिए।
समूहको शीर्ष स्थानमा रहेको जर्मनीले ७ खेलबाट २१ अंक जोडेको छ। बाँकी रहेका तीनमध्ये एक खेलमा जित निकाले जर्मनी विश्वकपमा छनोट हुनेछ।
समूह ‘सी’को अर्को खेलमा भने सान मारियोलाई ३–० ले पराजित गर्दै उत्तरी आयरल्यान्डले पनि विश्वकपमा छनोट हुने सम्भावना कायमै राखेको छ। समूहमा ७ खेलबाट १६ अंक जोडेको आयरल्यान्ड दोस्रो स्थानमा छ।
समूह ‘एफ’ को खेलमा इंग्ल्यान्डले माल्टालाई ४–० ले पराजित गरेको छ। इंल्यान्डले चारै गोल दोस्रो हाफमा गर्योा। जसमध्ये तीन गोल ८५ मिनेटपछि भए। इंग्ल्यान्डको जितमा ह्यारी केनले ५३औं र दोस्रो हाफको इन्जुरी टाइममा गरी २ गोल गरे।
रायन बेरटान्डले ८६औँ तथा ड्यानी वेलबेकले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गरे। जितसँगै इंग्ल्यान्ड ७ खेलबाट १७ अंक जोडेर समूहको शीर्ष स्थानमा छ। दोस्रो स्थानको स्लोभाकियाले स्लोभेनियालाई १–० ले हराएको छ। स्लोभाकियाले १५ अंक जोडेको छ भने तेस्रो स्थानको स्कटल्यान्ड र चौथो स्थानको स्लोभेनियाको समान ११–११ अंक छ।
अफ्रिका छनोटको समूह ‘बी’ को खेलमा नाइजेरियाले क्यामरुनलाई ४–० ले हराएको छ। लगातार तीन खेलमा विजयी नाइजेरियाको ९ अंक छ। दोस्रो स्थानको क्यामरुनको २ अंक मात्र छ। समूह 'डी'को खेलमा केप भर्डी आइल्यान्डले दक्षिण अफ्रिकालाई २–१ ले हराएको छ। समूह 'ई'को खेलमा घाना र कंगोले १–१ को बराबरी खेले।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।