एजेन्सी- बलिउड तथा दक्षिण भारतीय फिल्ममा आफ्नो खलचरित्रका लागि चर्चित अभिनेता प्रकाश राजले सरकारबाट आफूलाई प्राप्त पाँच राष्ट्रिय पुरस्कार फिर्ता गर्ने चेतावनी दिएका छन्। उनले पत्रकार गौरी लंकेश हत्यालाई सामाजिक सञ्जालमा खुसी मनाउने केही समूहबारे भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले मौनता राखेको भन्दै उक्त चेतावनी दिएका हुन्।
'गौरीका हत्यारा अझै पक्राउ परेका छैनन्। तर, यसमा सबैभन्दा खेदजनक त के छ भने केही मानिसले यसबारे सामाजिक सञ्जालमा खुसियाली मनाइरहेका छन्। उनीहरूले घृणा फैलाउने काम गरिरहेका छन्,' उनले भने, 'यसमा खुसी मनाउने केहीलाई हाम्रा प्रधानमन्त्री नरेन्द्र मोदी ट्विटरमा फलो गर्छन्। हाम्रा प्रधानमन्त्री यसमा आँखा चिम्लिरहेका छन्।'
यस्तो अभिव्यक्ति प्रकाशले आइतबार प्रजातान्त्रिक युवा फेडेरेसन इन्डियाको ११औं राज्य सम्मेलनका क्रममा बैङ्लुरुमा दिएका हुन्।
प्रकाशले उत्तर प्रदेशका मुख्यमन्त्रीको पनि आलोचना गरे। 'उनका भनाइहरू हेर्दा उनी मुख्यमन्त्री हुन् कि पुजारी हुन् बुझ्न सकिँदैन। उनी मभन्दा राम्रा अभिनेता हुन्। मेरो विचारमा उनलाई मेरा पाँचवटै राष्ट्रिय पुरस्कार दिनुपर्छ।'
प्रकाशले यस्तो भने पनि आयोजकले भने प्रकाश राजको सो भनाइ व्यंग्य मात्र भएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।