प्रशान्त ताम्रकार नेपाली र्याम्प मोडलिङको चर्चित नाम। विगत एक दशकदेखि उनी नेपाली फेसनसँग कुनै न कुनै रूपमा जोडिएका छन्। बितेका २–३ वर्षयता उनी नेपाली फिल्मसँग प्रत्यक्ष जोडिन थालेका हुन्।
’सम्बोधन’ फिल्मबाट ‘कमनम्यान’को भूमिकामा डेब्यू गरेका प्रशान्तको दोस्रो फिल्म ’ऐश्वर्य’ कार्तिक ९ गते रिलिज हुँदैछ। फिल्ममा उनी ‘एन्टागोनिस्ट’ छन्। झण्डै ६ फिट १ इन्च अग्ला र गठिलो शरीरका धनी प्रशान्त निकैपछि फिल्ममा प्रवेश गरे पनि यसलाई उपयुक्त समय ठान्छन्। भनिन्छ, ‘लाइफ बिगिन्स एट फोर्टी’। ४० वर्ष पुरा गरिसकेका उनै प्रशान्तसँग नेपाल लाइभले गरेको कुराकानीः
पछिल्लो समय नेपाली फिल्ममा भिलेनहरू अझ बढि ह्यान्डसम हुँदै गएका हुन हो?
पहिलाको भिलेनहरू पनि ह्यान्डसम नै थिए। पहिला भिलेन भन्ने वितिकै मान्छे तर्सिनुपर्छ। डराउने हुनुपर्छ भन्ने सोच थियो। अहिले सोच परिवर्तन हुँदै गइरहेको छ।। मानिस भिलेन रूपले भन्दा पनि सोचले हुन्छ। ’ऐश्वर्य’ मा म यही भूमिकामा छु।
’ऐश्वर्य’मा आफ्नो खलपात्रको चरित्र निर्माण कसरी गर्नुभयो?
मानिस राम्रो नराम्रो हुने कुरा परिस्थितिले निर्माण गर्छ। कुनै एक समयमा राम्रो भएको मान्छे परिस्थितिले कतिखेर नराम्रो बन्न सक्छ थाहा हुँदैन। फिल्ममा म ’ऐश्वर्य’ पात्रलाई पाउनका लागि जे पनि गरिरहेको हुन्छु। त्यो चरित्र निर्माणका लागि मैले ३–४ पटक स्क्रिप्ट पढेर मनन गरे। मैले अरूको नक्कल गर्नुभन्दा रिसाउँदा मान्छेले के गर्छ ? कसरी बोल्छ ? भन्ने अध्ययन गरे र त्यसैलाई आफ्नो पात्रमा मिसाउँदै लगे। जुन स्क्रिप्टले मागे अनुसार फिट भयो। फिल्मको लुकको बारेमा त निर्देशक पहिले नै तयार हुनुहुन्थ्यो।
मोडलिङको समयदेखि नै तपार्इंलाई फिल्मको अफर आएका थिए तर फिल्ममा आउन समय लगाउनु भयो नि, किन?
हरेक कुराको लागि उपयुक्त समय आउने रहेछ। मेरो लागि पनि त्यस्तै भयो। अगाडि पछाडि भन्दा पनि मेरा लागि यही सहि समय ठिक थियो जस्तो मलाई लाग्छ। पहिला आएको भए, पहिल्यै सकिसक्थे होला। अहिले आएको छु, पछिसम्म टिक्छु। पहिला म फेसनमै व्यस्त भएँ, त्यतै रमाए। अभिनयमा त्यो बेला पनि मलाई रूचि थियो। जुन किसिमको भूमिका म चाहन्थें, त्यो मिलेको हुनाले अहिले फिल्म गर्दैछु। हिरो हुन्छु भनेर कहिल्यै पनि लागिनँ, यो सत्य हो।
फिल्ममा जति भयंकर भिलेन, उति नै ठूलो हिरोको हिरोइजम हुन्छ। फिल्ममा तपाईं कति भयंकर हुनुहुन्छ?
क्रुर छ। कयारेक्टरमाथि सक्दो मिहिनत गरेको छु। भिलेनको रुपमा आफूलाई स्थापित गराउन मैले एक सय दश प्रतिशत दिएको छु। दर्शकले मेरो भिलेन चरित्रलाई मन पराउनु हुनेछ। टिजर र ट्रेलरबाट आएको प्रतिक्रियाले म आफैं अचम्ममा छु। यति धेरै राम्रो प्रशंसा हुन्छ भन्ने सोचेको थिइनँ।
आएका प्रतिक्रियाहरू सुन्दा मनमा फिल्ममा आउन ढिला गरे भन्ने लाग्दैन?
लाग्दैन। मैले अघि भनिहाले, हरेक चिज समय आएपछि हुन्छ। त्यो समयमा गरेको भए आज अर्कै स्थिति बन्न सक्थ्यो। आजको जस्तो नहुन पनि सक्थें। पहिला हिरो बनेको भए आजको दिनमा क्यारेक्टर रोल गर्न सक्दिनथें कि।
एक समय तपाई महेश भट्टको फिल्मको अडिसनका लागि मुम्बई जानुभएको थियो, त्यो बेला के भयो?
त्यतिखेर एउटा प्रस्ताव आयो। म पनि उत्साही थिए। तर मसँग अनुभव थिएन। मैले त्यतिबेला एउटा फिल्म ’टाटा बाईबाई’ गरेको थिए। जुन अहिलेसम्म रिलिज भएको छैन। सायद मसँग पोर्टफोलियो मिलेन होला, त्यसैले कुनै प्रगति भएन। अहिले पनि मलाई हिन्दी र साउथका फिल्मबाट प्रस्ताव आइरहेका छन्। म पहिले यही आफ्नो परिचय बनाएर मात्र उता जान चाहन्छु। मलाई बलिउडमात्र हैन हलिउडबाट पनि प्रस्ताव आएको छ। हेरौं के हुन्छ? अहिले नेपालमै राम्रो रोल पाइरहेको छु। तारिफ पनि पाइरहेको छु। त्यसैले कुनै हतार छैन।
तपाईंलाई एकदमै मनपर्ने भिलेन?
अमरिश पुरी एकदमै मनपर्छ। मलाई उहाँको अभिनय आवाज मनपर्छ। नेपालमा कुरा गर्दा सुनिल थापा मनपर्छ। हलिउडमा इस्कार फेसको भिलेन एकदमै मनपरेको छ।
अभिनयमा मनपर्ने कुनै भिलेन चरित्र?
’शोले’को गब्बर सिंह। त्यसको नाम नै भिलेनका रूपमा मलाई वजनदार लाग्छ। यो नाम जतिको चर्चित भिलेन बलिउडको सायदै कुनै फिल्मको भिलेन होला।
तपाईंलाई कुनै पनि रोल मन पर्याे भने कुन हदसम्म आफूलाई त्यो रोलका लागि परिवर्तन गर्न सक्नुहुन्छ?
कलाकारलाई फरक भूमिकाको लोभ भइराख्छ। भयोपुग्यो हुँदैन। त्यसका लागि गर्नुपर्ने र जानुपर्ने हदसम्म म जान्छु। ‘सम्बोधन’ मा काम गर्न मैले १२ किलो वजन बढाएको थिएँ। ’ऐश्वर्य’का लागि १७–१८ किलो वजन घटाएको छु।
फिल्मबाट कस्तो आशा छ?
ट्रेलरबाट राम्रो प्रतिक्रिया पाएको हुनाले फिल्मलाई लिएर आशा बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।