पोस्टरमा छुट्यो कि छुटाइयो 'छक्का पञ्जा २' का लेखकको नाम? 

नेपाल लाइभ | २०७४ भदौ १७ शनिबार | Saturday, September 02, 2017 १३:२५:०० मा प्रकाशित

काठमाडौं-  'छक्का पञ्जा'को सर्वाधिक व्यापारका कारण यसको सिक्वेल दर्शकका लागि प्रतीक्षाको फिल्म बनेको छ। 

फिल्मका रिलिज भएका दुई गीत 'नाइलनको सारी'मा र 'झ्याम्म झ्याम्म' गीत चोरिएको आरोप लागेपछि फिल्म केही विवादित पनि बन्दै आएको छ। 'छक्का पञ्जा २' को यो विवाद यहीँ रोकिने देखिन्न। 

शुक्रबार फिल्मको पहिलो पोस्टर सार्वजनिक भयो। सार्वजनिक पोस्टरमा फिल्मको कथा र पटकथाका सर्जकको नाम राखिएको छैन।

फिल्म पहिले टेबलमा तयार हुन्छ। कथा र पटकथा लेखनबाट फिल्मको श्री गणेश हुन्छ। रिलिजको संघारमा रहेको फिल्मका कथाकार सामिप्यराज तिमल्सिना र विकास राज आचार्य हुन्। पोस्टरमा उनीहरूको नाम छैन। पोस्टरमा विकासराज आचार्यको नाम कार्यकारी निर्माताका रूपमा भने रहेको छ। 

किन भयो त यस्तो ?

फिल्मका निर्माता एवं कलाकार दीपकराज गिरीले 'नियतवश नभई भुलवश हुन गएको' नेपाल लाइभलाई प्रतिक्रिया दिएका छन्।

'फिल्मको पटकथाकार र संवाद लेखक म हुँ। संवादमा साथीहरूले पनि सहयोग गर्नुभएको छ,'   उनले भने, 'डिजाइनका क्रममा मेरो सहित केही साथीहरूको नाम छुटेको छ। पोस्टर छाप्दा अब त्यसलाई सच्याउनेछौं।' 

विवाद वा अन्य कारणले नाम नलेखिएको भन्ने भ्रममा नपर्न उनले आग्रह गरेका छन्।