काठमाडौं- नेपाली रंगमञ्चमा नयाँ थिएटर र नाट्य समूह थपिने भएको छ ।
नाट्यकर्मी सुलक्षण भारती र सिर्जना अधिकारीले ‘पुरानो घर’ नाट्य समूह स्थापना गरेका छन् । उनीहरूले राजधानीको सिनामंगलमा ‘पुरानो घर’ थिएटरसमेत निर्माण गर्ने भएका छन् ।
साथै गुरुकुलले दशैंको पूर्णिमामा नियमित मनाउँदै आइरहेको दशैं पनि यसपल्ट उनीहरूको नाट्य समूह ‘पुरानो घर’ले सिनामंगलमै आयोजना गर्ने भएको छ ।
पूर्णिमामा मनाइने दशैंका दिन थिएटरको शिलान्यास गरिने पनि ‘पुरानो घर’का क्रिएटिभ डाइरेक्टर भारतीले जानकारी दिए । दशैं मनाउन संस्कृतिविद् सत्यमोहन जोशी, नाट्यकर्मी प्रचण्ड मल्ल, लेखक प्रोफेसर अभि सुवेदी, नाट्यकर्मी हरिहर शर्मा, नाट्यकर्मी सुनील पोखरेललगायत अन्य अग्रज रंगकर्मी आउने उनले बताए ।
भारतीले सिनामंगलस्थित आफ्नो निजी जग्गामा नै थिएटर निर्माण गर्ने बताए । उनले भने, ‘०७२ सालको भूकम्पमा घर भत्कियो । त्यही जग्गामा थिएटर निर्माण गर्न लागेका हौं।’
५ आना जग्गामा निर्माण हुने थिएटरको निर्माण लागत करिब ६० लाख रुपैयाँ रहेको ‘पुरानो घर’की प्रबन्ध निर्देशक सिर्जना अधिकारीले जानकारी दिइन् । उनले करिब १ सय ५० दर्शक क्षमताको थिएटर आगामी माघ÷फागुनसम्म निर्माण गरिसक्ने लक्ष्य रहेको बताइन् ।
भारतीले निर्माण लागतमा रंगमञ्च भवनको लागत मात्र नभएर लाइटिङलगायत सबैको लागत समावेश रहेको बताए । उनले पछिल्लो समय थिएटरमा लगानीकर्ताहरू आउन थालेकाले आफूले पनि लगानीकर्ता÷साझेदारको खोजी गरिरहेको जानकारी दिए । ‘धेरै जना होइन, २/३ जनासम्म साझेदार खोजीरहेका छौं । केहीसँग छलफल भइरहेको छ,’ उनले भने, ‘तत्काल भने थिएटर निर्माणमा आफ्नै रकम लगानी गर्दैछौं ।’
भारती र सिर्जना दुवै अनामनगरस्थित मण्डला थिएटरमा पनि संलग्न छन् । तर ‘पुरानो घर’ स्थापना र निर्माणपछि पनि मण्डलामा आफ्नो संलग्नता जारी नै रहने भारतीले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।