काठमाडौं- नेपालीहरु माझ राम पाण्डे त्यति चिनिएको नाम होइन्। तर, भारतीय टेलिभिजनमा उनको ठूलो नाम छ। भारतको विभिन्न च्यानलबाट प्रदर्शन भइसकेको ‘सिम्प्ली सपने’, ‘स्त्री तेरी कहानी’ र ‘कुमकुम’ का निर्देशक हुन, उनी। उनले स्टार प्लसबाट प्रदर्शन भएको ‘ये रिस्ता क्या कहलाता हे’ मा पनि लामो समय काम गरेका थिए।
भारतीय टेलिभिजन सिरियलहरुमा उनी चल्तीका नाम हुन्। त्यसैले उनलाई मायानगरी मुम्बईमा कामको कुनै खाँचो छैन्। उनले टेलिभिजनमा दिइने ठूलो अवार्डमध्येको एक ‘अप्सरा’ अवार्ड जितिसकेका छन्।
मुम्बईमा अहिले सुखी जीवन बिताइरहेका पाण्डेको अवस्था कुनै बेला यस्तो थिएन। उनले मुम्बईमा टिक्न धेरै दुःख गरे। यतिसम्म कि होटलमा भाडा माझेर पनि उनले आफ्नो पेट पालेका थिए।
२०५४ सालमा नवलपरासीको रामनगरबाट मुम्बई घुम्न जाँदा उनको खल्तीमा ३ सय रुपैयाँ मात्र थियो। उनी पुरानो दिन सम्झँदै भन्छन्, ‘मैले आफ्नो पेट पाल्न भाडा माझिन कि चौकीदारी गरिन। सबै काम गरेँ।’
टेलिभिजन सिरियलमा सुरुमा काम गर्दा उनको प्रतिदिनको कमाइ थियो, ५० रुपैयाँ भारु। अहिले उनी मनग्य कमाउँछन्। ‘दुःखको दिनबाट डराएर घर फर्केको भए आज यो अवस्थामा हुने थिइनँ,’ उनी गर्वका साथ सुनाउँछन्।
उनी मुम्बई आउँदा १४ वर्षको उमेर मात्र थियो। त्यतिबेला सानै उमेर भए पनि एसएलसीको परीक्षा दिएर घर बसेका थिए। यति नै बेला गाउँको एकजना दाईले मुम्बई जाने अफर गरेपछि बुवासँग ३ सय रुपैयाँ मागेर मुम्बई हिँडेको उनी अहिले पनि सम्झन्छन्।
‘म मध्यम परिवारमा जन्मिएको मान्छे। सकिनसकी काम गरें। पछि स्पट ब्वाईसँग काम गर्ने केटाहरुसँग गएर काम सिकें,’ उनले भने। उनले स्पट ब्वाइका रुपमा काम गरेको पहिलो सिरियल थियो ‘जाने भी दो प्यारो।’ उनले काम सिक्ने क्रममा आफूभन्दा ठूलाका थुप्रै हप्की सुने। यसैले उनलाई अगाडि बढ्न मार्ग प्रसस्त गर्यो। अहिले उनी आफ्ना जुनियरहरुलाई काम लगाउँछन् तर प्रेमले।
उनी आफूलाई काम गर्दागर्दै बनेको मान्छे भन्न रुचाउँछन्। आज उनीसँग मुम्बईमा नाम छ, घर छ र एउटा सुन्दर परिवार पनि।
‘मैले सन् २००४ देखि मात्र टेलिभिजनमा काम गर्ने मौका पाएँ। ६ वर्ष त यति दुःख गर्नुपर्यो यसको बयान पनि गर्न सक्दिनँ,’ उनी भन्छन्।
उनले भारतमा एक दर्जन टेलिभिजन सिरियलमा निर्देशन गरिसकेका छन्। उनको इच्छा छ, नेपालमै बसेर नेपाली चलचित्रलाई निर्देशन गर्ने। तर, काम र व्यस्तताले उनको यो सपना पूरा भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।