लन्डन- गायक प्रमोदराज न्यौपानेको एल्बम 'मेरो घरको छानो'भित्रको ‘रहेसम्म तिमीसँग’ बोलको एउटा रोमान्टिक पप गीतको भिडियो सार्वजनिक भएको छ। लन्डन नजिकैको समुद्री किनार र कन्ट्री साइडमा छायांकन गरिएको उक्त भिडियोमा रोशना कार्की र टंक धमलाको रोमान्स देख्न सकिन्छ।
रोशनासँग नेपालमा मोडलिङ गरेको केही अनुभव छ भने टंक रेडियो प्रस्तोता थिए। लन्डनमा टंक विगत एक वर्षदेखि अभिनय सिकिरहेका छन्। बेलायतकी ब्युटिसियन बिना राई र दिपिका श्रेष्ठको मेकअप र काजलको ड्रेस डिजाइन छ।
युरानको शब्द र सागर किनारको संगीत रहेको गीतको भिडियोको छायांकन, निर्देशन र सम्पादन कुशल श्रेष्ठले गरेका छन्। नेपाल छँदा झन्डै ८ वर्ष रेडियो प्रस्तोताको काम गरेका गायक प्रमोदराज पछिल्लो समय बेलायतमा सञ्चार क्षेत्रमा समेत सक्रिय छन्।
केही समयअघि उनले निकालेको एल्बम ‘मेरो घरको छानो’ को विमोचन काठमाडौं र लन्डन दुवै ठाउँमा गरिएको थियो। शीर्ष गीतको भिडिओ निर्देशन भने भूषण दाहालले गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।