लन्डन– जुम्लाको अति विकट पत्थरखोलामा बर्थिङ सेन्टर निर्माणमा आर्थिक सहयोग जुटाउने उद्देश्यले नेप्लिज नर्सिङ एसोसिएसन यूकेले शनिबार च्यारिटी कार्यक्रम गरेको छ। कार्यक्रममा ६ हजार २ सय ८७ पाउन्ड संकलन भएको र २ हजार ८ सय ४६ पाउन्डको प्रतिबद्धता आएको छ।
मातृशिशु केन्द्र निर्माण गर्न करिब ४० हजार पाउन्ड लाग्ने एसोसिएसनकी अध्यक्ष प्रसुना कँडेलले बताइन्। उनले सबै दाताप्रति आभार व्यक्त गर्दै यो अभियानमा साथ दिन अपिल गरिन्। कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले एसोसिएसनको मानवीय कार्यको प्रशंसा गरे। उनले अहिले नेपालले प्राकृतिक प्रकोपको पीडा झेलिरहेको स्मरण गर्दै बेलायतका नर्सहरुले भूकम्पका बेला गरेको उद्दार तथा राहतकार्यको पनि सराहना गरेका थिए।
ब्रेन्ट काउन्सिल मेयर भगवानजी चौहान कार्यक्रममा विशेष अतिथिका रुपमा उपस्थित भएका थिए। एसोसिएसनकी महासचिव रस्मिता दर्लामीले सञ्चालन गरेको पहिलो चरणको औपचारिक कार्यक्रममा रोयल कलेज अफ नर्सिङ, फोरम कमिटी मेम्बर एवं अलपाकिस्तान नर्सेस एसोसिएसनकी अध्यक्ष जेबाआरिफ, एनआरएनए युरोप संयोजक कुल आचार्य र नेपलिज डक्टर्स एसोसिएसन यूकेका अध्यक्ष डा. सविन जोशीले शुभकामना दिएका थिए।
कार्यक्रममा एसोसिएनका उपाध्यक्ष विनोदविकास सिम्खडाले बर्थिङ सेन्टर निर्माणबारे विस्तृत विवरण प्रस्तुत गरेका थिए। कोषाध्यक्ष गंगा साम्पाङ र सहकोषाध्यक्ष यमुना घलेले बर्थिङ सेन्टर निर्माणका लागि हालसम्म संकलित रकम र सहयोग गर्नेहरुबारे जानकारी गराएका थिए।
सुनिता गौतमले सञ्चालन गरेको दोस्रो चरणको कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति र नाटक मञ्चन गरिएको थियो।
२०७२ सालको भूकम्पका बेला नेपाल गएर राहत तथा उद्दारमा खटिएको एसोसिएसनले त्यस लगत्तै सिन्धुपाल्चोक र गोरखामा एक–एकवटा विद्यालय पुनर्निर्माण गरिसकेको छ। एसोसिएसनले बेलायत र नेपालमा निरन्तर निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।