काठमाडौं– गत बैसाख ६ गते काठमाडौं भएको नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणसभाले सल्लाहकार समूहले सिफारिस गरेको विधान हुबहु पारित गरेपछि नेपाली क्रिकेटको विवाद अन्त्य हुने आसा गरिएको थियो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले पनि निलम्बन फुकुवा गर्ने संकेत दिएको थियो।
फुकुवा गर्नका लागि आइसिसीले विभिन्न काम गर्नुपर्नेको मार्गचित्र तयार पारेको थियो। तर कुनै पनि काम अघि बढ्न नसक्दा जुलाईमा भएको आइसिसीको साधारणसभामा क्यानको निलम्बन फुकुवा गर्ने प्रस्ताव जान सकेन।
साधारणसभापछि निर्वाचनका लागि ५ सदस्यीय मोनिटरिङ समिति (स्वतन्त्र समिति) बनाउने निर्णय गरिएको थियो। तर आइसिसीले २ महिनासम्म आफ्ना प्रतिनिधि टुंगो लगाएन। जसले कुनै अघि बढेन।
समिति नबन्दा आचारसंहिता बनाउने र जिल्लालाई सूचना पठाउने काम हुन सकेन। समिति बनेपछि सदस्य लिन र उजुरी दर्ताका लागि सार्वजनिक सूचना निकाल्ने काम गर्ने भनिएको थियो। उजुरीपछि जिल्ला, प्रदेश र केन्द्रको निर्वाचन गर्ने कार्यतालिका थियो। तर स्वतन्त्र समिति समयमै नबन्दा सबै काम अड्किए।
आइसिसीले गत महिना स्वतन्त्र समितिका लागि ३ जना नियुक्त गरेको थियो। अमर शेख, नितिश कोथारी र मोहमद अली नियुक्त भएका थिए। राष्ट्रिय खेलकुद परिषदले समितिमा राष्ट्रिय टिमका पूर्व कप्तान एलबी क्षेत्रीलाई नियुक्त गर्ने भएको छ। यस्तै क्यानको तर्फबाट ठाकुरप्रताप थापा जाने भएका छन्। स्वतन्त्र समितिको पूर्ण भए पनि काम भने भदौको पहिलो साताबाट मात्र सुरु हुने भएको छ।
'आइसिसीका प्रतिनिधि भदौ पहिलो साता काठमाडौं आउने तय भएको छ। हामीले पनि स्वतन्त्र समितिमा नाम सिफारिस गरिरसकेका छौं,' क्यानका महासचिव अशोकनाथ प्याकुरेलले नेपाल लाइभसँग भने, 'अब कसरी अघि बढ्ने विषयमा हामी आइसिसी र वकिलसँग छलफल गरिरहेका छौं। भदौ पहिलो साताबाट रोकिएको प्रक्रिया अघि बढ्ने आसा छ।'
भदौ पहिलो सातादेखि समितिले काम थालेको अवस्थामा जिल्ला निर्वाचन देखि केन्द्रीय समितिको निर्वाचन सकिन कम्तिमा ३ महिना लाग्नेछ। केन्द्रीय समितिको निर्वाचनमार्फत नयाँ नेतृत्व आएको अवस्थामा मात्र आइसिसीमा क्यान माथिको निलम्बन फुकुवा गर्ने प्रस्ताव जानेछ।
आन्तरिक विवाद र सरकारी हस्तक्षेप भएको भन्दै आइसिसीले क्यानलाई ०७३ बैशाखमा निलम्बन गरेको थियो । त्यसपछि आइसिसीले नै नेपाली क्रिकेटको व्यवस्थापन हेर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।