काठमाडौं– युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टिमका ओपनर अनिल साहले अभ्यास खेलमा शतक प्रहार गरेका छन्। अनिलले बुधबार इस्ट लन्डन बिरुद्धको खेलमा १ सय ३१ रन जोडेका हुन्। १ सय १८ बल खेलेका उनले १९ चौका र ३ छक्का प्रहार गरे।
यता मध्यक्रमका ब्याट्सम्यान शरद भेषावकर भने २ रनले शतक बनाउन चुकेका छन्। शरदले ९८ रन जोड्न ८६ बल खेलेका थिए। उनले समान ६ चौका र छक्का प्रहार गरे।
२ ब्याट्सम्यानको उत्कृष्ट ब्याटिङसँगै टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा ३ सय ३८ रन जोड्यो। ओपनिङमा आएका अर्का ब्याट्सम्यान सुवास खकुरेल ८ रनमा आउट भए भने ज्ञानेन्द्र मल्ल ९ रन र कप्तान पारस खड्का ४ रनमै आउट भए। तर अनिल र शरदले चौथो विकेटका लागि २ सय १२ रनको विशाल साझेदारी गरे।
रोहित कुमार पौडेल ११ रनमा आउट भए भने सोमपाल कामीले २९ रनको योगदान दिए। शक्ति गौचनले नटआउट ९ रन र करण केसीले नटआउट १३ रन बटुले।
बलिङमा इस्ट लन्डनमा अर्सनल खानले ३ विकेट लिए। नविव अइजासले २ र सागर जोशीले १ विकेट लिए।
इंग्ल्यान्डको लर्ड्समा हुने टी–२० सिरिज र नेदरल्यान्ड्समा हुने एकदिवसीय सिरिज खेल्न नेपाली टिम युरोप भ्रमणमा छ।
नेपालले आगामी साउन १३ नेदरल्यान्ड्स र एमसिसीसँग त्रिकोणात्मक टी–२० सिरिज खेल्नेछ। त्यसपछि नेपाली टिम नेदरल्यान्ड्स प्रस्थान गर्नेछ। साउन १६ र १८ मा नेपालले २ खेलको एकदिवसीय सिरिज खेलेर एकदिवसीय खेलमा डेब्यू गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।