काठमाडौं– युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले तेस्रो अभ्यास खेलमा फराकिलो अन्तरको जित हात पारेको छ। बुधबार भएको खेलमा नेपालले इस्ट लन्डनलाई २ सय २३ रनले पराजित गरेको हो।
३ सय ३९ रनको लक्ष्य पछ्याएको लन्डन ३८.५ ओभरमा १ सय १५ रनमा अलआउट भयो। उसका लागि ड्यारेन आइरोनसाइडले ३८ रन, आकास राजीले नटआउट २७ रन र भाज पुरेवालले २२ रन बटुले।
बलिङमा नेपालका शक्ति गौचनले ४ विकेट लिए। शक्तिले ९.५ ओभरमा ५ मेडन राख्दा २३ रन खर्चिए। करण केसी र पारस खड्काले २–२ विकेट हात पारे। सोमपाल कामी र ललित राजवंशीको नाममा १–१ विकेट रह्यो।
त्यसअघि ओपनर अनिल साहले शतक प्रहार गरेका थिए। अनिलले १ सय ३१ रन जोडेका थिए। १ सय १८ बल खेलेका उनले १९ चौका र ३ छक्का प्रहार गरे।
यता मध्यक्रमका ब्याट्सम्यान शरद भेषावकर भने २ रनले शतक बनाउन चुके। शरदले ९८ रन जोड्न ८६ बल खेलेका थिए। उनले समान ६ चौका र छक्का प्रहार गरे।
२ ब्याट्सम्यानको उत्कृष्ट ब्याटिङसँगै टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा ३ सय ३८ रन जोड्यो। ओपनिङमा आएका अर्का ब्याट्सम्यान सुवास खकुरेल ८ रनमा आउट भए भने ज्ञानेन्द्र मल्ल ९ रन र कप्तान पारस खड्का ४ रनमै आउट भए। तर अनिल र शरदले चौथो विकेटका लागि २ सय १२ रनको विशाल साझेदारी गरे।
रोहित कुमार पौडेल ११ रनमा आउट भए भने सोमपाल कामीले २९ रनको योगदान दिए। शक्ति गौचनले नटआउट ९ रन र करण केसीले नटआउट १३ रन बटुले।
बलिङमा इस्ट लन्डनमा अर्सनल खानले ३ विकेट लिए। नविव अइजासले २ र सागर जोशीले १ विकेट लिए।
आज नेपालले अन्तिम अभ्यास खेलमा स्ट लन्डन सार्कससँग टी–२० खेल खेल्नेछ।
इंग्ल्यान्डको लर्ड्समा हुने टी–२० सिरिज र नेदरल्यान्ड्समा हुने एकदिवसीय सिरिज खेल्न नेपाली टिम युरोप भ्रमणमा छ।
नेपालले आगामी साउन १३ गते नेदरल्यान्ड्स र एमसिसीसँग त्रिकोणात्मक टी–२० सिरिज खेल्नेछ। त्यसपछि नेपाली टिम नेदरल्यान्ड्स प्रस्थान गर्नेछ। साउन १६ र १८ मा नेपालले २ खेलको एकदिवसीय सिरिज खेलेर एकदिवसीय खेलमा डेब्यू गर्नेछ।
त्रिकोणात्मक सिरिज
नेपाल, एमसिसी र नेदरल्यान्ड्स – १३ साउन– लर्ड्स मैदान, लन्डन
एकदिवसीय सिरिज
पहिलो एकदिवसीय – १६ साउन– नेपाल भर्सेस नेदरल्यान्ड्स – आम्स्टर्डम
दोस्रो एकदिवसीय – १८ साउन– नेपाल भर्सेस नेदरल्यान्ड्स – आम्स्टर्डम
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।