काठमाडौं– इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबलको 'ड्र' दोस्रोपटक सार्वजनिक गरिएको छ। 'ड्र' मा नेपाल यसअघि परेकै समूह परेको छ।
नेपाल समूह 'डी' मा छ। जहाँ नेपालसहित जापान, भियतनाम र पाकिस्तान छन्। २ वटा समूहमा भने ५–५ टिम परेका छन्। यसअघि २० टिमले मात्र एसियाली खेलकुदमा भाग लिने तय थियो। तर पाँच टिम फेरि थप गरिएपछि दोस्रो पटक ड्र गरिएको हो।
नेपालले अन्तिम तयारी थाइल्यान्डमा गर्ने बताइएको छ। त्यहाँ रहदा नेपालले २ वटा अभ्यास खेल्नेछ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टिमलाई साउन दोस्रो साता थाइल्यान्ड पठाउन लागेको हो। एन्फा प्रवक्ता किरण राइका अनुसार नेपाली टिम आगामी साउन १५ देखि १९ गते भित्रमा थाइल्यान्ड पुग्नेछ। त्यहाँ पुगेपछि नेपालले थाइल्यान्डको टिमसँग अभ्यास खेल खेल्ने राइले बताए।
एसियन गेम्समा यू–२३ टिमको प्रतिस्पर्धा हुनेछ। त्यसका लागि नेपाली टिम पनि घोषणा भइसकेको छ। टिममा ३ जना यू–२३ माथिका खेलाडी राख्न पाउने प्रावधान अनुसार गोलकिपर किरण चेमजोङ, रोहित चन्द र भरत खवास पनि छन्।
यू–२३ टिम भएपनि नेपाली टिममा राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता छ। त्यसैले एसियन गेम्सलाई नेपालले साफ च्याम्पियनसिपको तयारीको रुपमा लिएको छ।
आगामी भदौ २ देखि १७ गतेसम्म इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुदमा नेपालले फुटबलसहित २७ खेलमा भाग लिँदै छ। सबैले खेलले भिन्न भिन्न तयारी गरिरहेका छन्।
तर फुटबल भने २९ साउनदेखि नै सुरु हुनेछ।
एसियन गेम्सका लागि नेपाली फुटबल टिम
गोलकिपर– किरणकुमार चेम्जोङ, एलन न्यौपाने र सोजित गुरुङ
डिफेन्डर– अनन्त तामाङ, आदीत्य चौधरी, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, गौरव बुढाथोकी, छिरिङ गुरुङ
मिडफिल्डर– रोहित चन्द, हेमन्त गुरुङ, हेमन्त थापा मगर, अन्जन विष्ट, अभिशेक रिजाल र तेज तामाङ
फरवार्ड– सुनिल बल, भरत खवास, सुमन लामा र विमल घर्तिमगर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।