काठमाडौं– २०७३ पुषमा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा १६ वर्षे टेबलटेनिस खेलाडी स्यान्टु श्रेष्ठले सनसनी मच्चाएका थिए। उनले पुरुष एकलको फाइनलमा तीन पटकका राष्ट्रिय च्याम्पियन शिवसुन्दर गोथेलाई पराजित गर्दै पहिलाे पटक स्वर्ण जितेका थिए। जसले उनलाई टेबलटेनिसकाे कान्छाे च्याम्पियन बनायाे।
त्यसयता खेलेका हरेक राष्ट्रिय प्रतियोगितामा उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। सातौं राष्ट्रिय खेलकुदसहित श्रेष्ठले पछिल्लो डेढ वर्षमा चार राष्ट्रिय प्रतियोगिता खेलेका छन्। जसमा उनले तीन उपाधि जिते भने एकमा उपविजेता बने।
गत पुषमा भएकाे ३९अाैं राष्ट्रिय टेबलटेनिस प्रतियाेगितामा दिपेश खनियालाई हराएर स्वर्ण जिते।
साेपश्चात् नेपाल पुलिस क्लबका खेलाडी स्यान्टु ठमेल ओपन टेबलटेनिस प्रतियोगितामा पनि उत्कृष्ट लयमा देखिए। उनले दुईपटकका पूर्व च्याम्पियन प्रहरीकै दीप साउनलाई हराएर तेस्रो पटक स्वर्ण जितेका थिए। त्यसअघि नवौं पूर्णमान स्मृति खुला टेबलटेनिसको फाइनलमा भने स्यान्टु रोकिएका थिए। उनी दीप साउनसँग हारेका थिए।
पछिल्लो डेढ वर्षमा सिनियर च्याम्पियनसिपमा उत्कृष्ट खेलेका स्यान्टु जुनियर प्रतिस्पर्धामा पनि अब्बल थिए। जुनियरस्तरका दक्षिण एसियाली प्रतियोगितामा ३ कास्य जितेपछि उनी राष्ट्रिय प्रतियोगितामा प्रवेश गरेका हुन्।
स्यान्टु आगामी महिना इन्डोनेसियामा हुने एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्दैछन्। कलिलो उमेरमा राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेलेका स्यान्टुका लागि एसियन गेम्स भने सहज हुने छैन। इन्डोनेसिया उड्नुअघि उनले भारतको नयाँ दिल्लीमा प्रशिक्षण गर्नेछन्।
यही साता स्यान्टुसहित नेपाली टेबलटेनिस टिम प्रशिक्षणका लागि भारतको नयाँ दिल्ली गएको छ। त्यसअघि नेपाली टिमले विराटनगरमा २ महिना प्रशिक्षण गरेको थियो। 'एसियाली खेलकुदका लागि पहिलोपटक बन्द प्रशिक्षणमा परेको हुँ। यसअघि कस्तो प्रशिक्षण हुन्थ्यो थाहा छैन। यसपटकको प्रशिक्षण राम्रो भइरहेको अनुभव गरेको छु।,' दिल्ली उड्नुअघि नेपाल लाइभसँको कुराकानीमा उनले भने,'विराटनगरको मौसम र इन्डोनेसियाको मौसम मिल्ने भएको हुनाले त्यहाँ प्रशिक्षण गरेका हौं। अझै राम्रो प्रशिक्षण दिल्लीमा हुने विश्वास छ। त्यहाँका उत्कृष्ट खेलाडीसँग प्रशिक्षण गर्नेर्छौं।'
उनले एसियाली खेलकुदमा उत्कृष्ट खेल्ने लक्ष्य बनाएका छन्। 'एसियन गेम्समा टेबलटेनिस 'पावर हाउस' देशका खेलाडीले भाग लिएका छन्। चीन लगायतका देशका खेलाडी विश्वस्तरिय हुन्छन्,' स्यान्टुले भने, 'एसियन गेम्समा प्रदर्शनमा सुधार ल्याउनेमा केन्द्रित हुनेछु।'
स्यान्टुले यसै वर्ष नेपालमा हुने दक्षिण एसियाली खेलकुदमा भने पदक जित्ने लक्ष्य लिएका छन्। 'एसियन गेम्समा सिकेको कुरा उपयोग गर्दै साग गेम्समा पदक जित्ने मेरो लक्ष्य हो,' उनले भने।
सानै उमेरमा राष्ट्रिय च्याम्पियन बनेका स्यान्टु अाफू अथक परिश्रमले यहाँसम्म आइपुगेकाे मान्छन्। 'परिश्रमले अघि आएको हुँ। मैले आफ्नै प्रयासले विदेशमा प्रशिक्षण पनि लिएको थिएँ,' उनले भने, 'सजिलो–गाह्रो भन्ने चिज आफूले कति मिहिनेत गरेको छ, त्यसमा भर पर्छ। मेहनत गरेपछि एकदिन फल त अवश्य पाइन्छ।'
स्यान्टुसहित ६ नेपाली टेबलटेनिस खेलाडीले एसिलायी खेलकुदमा प्रतिस्पर्धा गर्दैछन्। पुरुषमा स्यान्टु, दीप साउन र अमरलाल मल्ल छन्। महिलामा नविता श्रेष्ठ, स्वेच्छा नेम्वाङ र रविना महर्जन छन्। प्रशिक्षकमा सन्जिव ढुंगेल र अनिल घिमिरे छन्।
एक महिना दिल्लीस्थित अन्सुलगढ टेबलटेनिस एकेडेमीमा तयारी गरेपछि नेपाली टिम भदौ ८ गते इन्डोनेसिया प्रस्थान गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।