काठमाडौं– युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले चौथो अभ्यास खेलमा फराकिलो अन्तरको जित हात पारेको छ। बिहीबार भएको टी–२० खेलमा नेपालले इस्ट लन्डन सार्कसलाई १ सय ३४ रनले पराजित गरेको हो।
नेपालले दिएको २ सय ५२ रनको लक्ष्य पछ्याएको लन्डनले २० ओभरमा ९ विकेट गुमाएर १ सय १७ रन मात्र जोड्न सक्यो। उसका लागि ताकि अब्बासले ३२ रन जोडे भने अफिज यावरले २६ र अर्साद हारुनले १६ रन जोडे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
बलिङमा नेपालका सन्दीप लामिछानेले ३ विकेट र ललितनारायण राजवंशीले २ विकेट हात पारे। करण केसी, दीपेन्द्रसिंह ऐरी र शरद भेषावकरले १–१ विकेट लिन सफल भए।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ५१ रन जोड्यो। नेपालका लागि ओपनिङमा आएका ज्ञानेन्द्र मल्लले ७५ रन जोडे। उनले १७ बलमा ५ चौका र ६ छक्का प्रहार गरे। अनिल शाह ८ रनमा आउट भए। दीपेन्द्रसिंह ऐरीले नटआउट ६७ र पारस खड्काले पनि ६७ रन नै बटुले। पारसले ३० बलमा ७ चौका र ५ छक्का प्रहार गरे। ऐरीले २६ बलमा ४ चौका र ६ छक्का प्रहार गरे। रोहितकुमार पौडेलले पनि नटआउट १२ रन जोड्दा आरिफ शेख २ रनमा आउट भएका थिए।
योसँगै नेपालले चार अभ्यास खेल खेल्दा ३ खेलमा जित हात पार्यो।
इंग्ल्यान्डको लर्ड्समा हुने टी–२० सिरिज र नेदरल्यान्ड्समा हुने एकदिवसीय सिरिज खेल्न नेपाली टिम युरोप भ्रमणमा छ।
नेपालले आगामी साउन १३ गते नेदरल्यान्ड्स र एमसिसीसँग त्रिकोणात्मक टी–२० सिरिज खेल्नेछ। त्यसपछि नेपाली टिम नेदरल्यान्ड्स प्रस्थान गर्नेछ। साउन १६ र १८ मा नेपालले २ खेलको एकदिवसीय सिरिज खेलेर एकदिवसीय खेलमा डेब्यू गर्नेछ।
त्रिकोणात्मक सिरिज
नेपाल, एमसिसी र नेदरल्यान्ड्स – १३ साउन– लर्ड्स मैदान, लन्डन
एकदिवसीय सिरिज
पहिलो एकदिवसीय – १६ साउन– नेपाल भर्सेस नेदरल्यान्ड्स – आम्स्टर्डम
दोस्रो एकदिवसीय – १८ साउन– नेपाल भर्सेस नेदरल्यान्ड्स – आम्स्टर्डम
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।