काठमाडौं– इंग्ल्यान्डको विश्वप्रसिद्ध लर्ड्स मैदानमा आइतबार नेपालले नेदरल्यान्ड्स र एमसिसीसँग त्रिकोणात्मक टी–२० सिरिज खेल्दैछ।
सिरिज आइतबार नै सकिनेछ। पहिलो खेल नेदरल्यान्ड र एमसिसीबीच दिउँसो पौने ४ बजे हुनेछ। दोस्रो खेलमा नेपाल र एमसिसीबीच पौने ७ बजे हुनेछ। यस्तै नेपाल र नेदरल्यान्ड्सबीच राति १० बजे तेस्रो खेल हुनेछ।
सिरिजलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले टी–२० अन्तर्राष्ट्रियको मान्यता दिएसँगै नेपालले ३ वर्षपछि पहिलो पटक टी–२० खेल्ने अवसर पाएको हो। यसअघि नेपालले पछिल्लो टी–२० पपुवा न्युगिनीसँग खेलेको थियो। डब्लिनमा भएको टी–२० विश्वकप छनोटको उक्त खेलमा नेपाललाई पपुवा न्युगिनीले ८ विकेटले पराजित गरेको थियो।
सन् २०१४ को टी–२० विश्वकपमा छनोट भएसँगै नेपालले टी–२० टिमको मान्यता पाएको थियो। त्यसपछि नेपालले ११ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्यो। जसमा नेपालले ३ खेलमा जित हात पार्दा ८ खेलमा हार बेहोरेको थियो।
लर्ड्समा खेलपछि नेपाली टिम नेदरल्यान्ड्स प्रस्थान गर्नेछ। साउन १६ र १८ मा नेपालले नेदरल्यान्ड्सबिरुद्ध २ खेलको एकदिवसीय सिरिज खेलेर एकदिवसीय खेलमा डेब्यू गर्नेछ।
लर्ड्समा हुने टी–२०
एमसिसी भर्सेस नेदरल्यान्ड्स – दिउँसो ३:४५ बजे
नेपाल भर्सेस एमसिसी – साँझ ५:५० बजे
नेपाल भर्सेस नेदरल्यान्ड्स – राति १०:०५ बजे
नेपाली टिम
पारस खड्का (कप्तान), अनिलकुमार साह, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल
अफिसियल
रमन शिवाकोटी (म्यानेजर/प्राविधिक विश्लेषक)
जगतबहादुर टमाटा (प्रशिक्षक)
दिनेश भट्ट (फिजियो)
सुवास पात्रो (ट्रेनर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।