सोल– कोरियामा काम गर्ने नेपालीको लगानीको अपेक्षासहित दोर्दी खोला जलविद्युत् आयोजनाले अग्राधिकार सेयर आवेदन खुला गरेको छ।
नेपालको लमजुङ जिल्लाको दोर्दी खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाले दक्षिण कोरियामा दोस्रो चरणको अग्राधिकार सेयर आह्वान गरेको हो। तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको १२ मेगावाटको आयोजनाको कुल लागत २ अर्ब २९ करोड रुपैयाँ रहने आयोजनाले जनाएको छ।
आयोजनाले दक्षिण कोरियाको राजधानी सोलका साथै बुसान, थेगु, आनसान, किमे लगायत स्थानबाट सेयर आवेदन दिन सकिने र न्यूनतम सेयरको मूल्य १ लाख रुपैयाँ रहेको जानकारी दिएको छ । आयोजनाले शनिबार थेगुमा चर्चित हास्य कलाकार मनोज गजुरेल, गायिका मीना निरौला लगायत कलाकारहरुको मनोरञ्जनात्मक कार्यक्रम गर्दै सेयर आवेदन खुला गरेको हो । सेयर आवेदनको समय सेप्टेम्बर १ देखि अक्टोबर ३१ सम्म छ।
साधारण सेयरमा परिवर्तन हुने अग्राधिकार सेयर भएकाले लगानीकर्ताको जोखिम न्यून हुनुका साथै लगानीकर्ताले उच्च प्रतिफल प्राप्त गर्नेमा विश्वस्त हुन कम्पनीले आग्रह समेत गरेको छ।
आयोजनाले सानिमा बैंकको नेतृत्वमा लक्ष्मी बैंक, कृषि विकास बैंक कैलाश विकास बैंक र यति विकास बैंकसँग ऋण सम्झौता गरेको जनाएको छ । आयोजनाको निर्माणपछि यसको सेयर सर्वसाधारणलाई बिक्री गरी नेप्सेमा सूचीकृत गरिने योजना रहेको कम्पनीले जानकारी गराएको छ।
परियोजना सम्पन्न हुनु अगावै अग्राधिकार शेयरमा बार्षिक ७.५ प्रतिशत प्रतिफल दिने कम्पनीको योजना रहेको छ । पछि सेयर बजारबाट प्राप्त हुने प्रतिफल बाहेक वार्षिक १७ प्रतिशत आयोजनाबाट लाभांश प्राप्त गर्न सकिने आयोजनाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।