काठमाडौं– चे ग्वेभाराको हत्या भएको ५० वर्ष पुगेको स्मृतिमा शुक्रबार राजधानीको मण्डला थिएटरमा विमर्श कार्यक्रम गरिएको छ। कार्यक्रममा वक्ताहरुले चेको जीवन संघर्ष र वर्तमानमा उनको सान्दर्भिकताको विषयमा धारणा राखेका थिए।
कार्यक्रममा विश्लेषक उज्ज्वल प्रसाईंले हामी बाँचिरहेको समाजमा चेलाई सान्दर्भिक बनाएर बुझ्न जरुरी रहेको बताए। ‘युवाहरु, जो बढी अध्ययनशील छन्, पढ्न चाहन्छन् र मार्क्सवाद वा वामपन्थको बारेमा जस्तो बहस यहाँ भइरहेको छ, त्यो केही मिसलिडिङ भइरहेको छ कि भन्ने लाग्छ,’ उनले भने, ‘त्यसैले पनि चेलाई सम्झिन जरुरी छ। अहिले नेपालमा चलिरहेको बहस र युवा भनेर हामीले गरिरहेको कामलाई पछि फर्केर हेर्दै अगाडिको बाटो तय गर्ने हो भने चे हाम्रा लागि राम्रो अध्ययन सामग्री बन्न सक्छन्।’
कवि निभा शाहले चे लड्दै गरेको समयमा बोलिभियाको सामाजिक आर्थिक परिवेश र शासकका शोषणबारे बोलेकी थिइन्। उनले चेको शब्द समेत उल्लेख गरेकी थिइन्, ‘क्रान्ति भनेको प्रेमको बलियो अनुभव हो।’
पूर्व सञ्चारमन्त्री तथा माओवादी केन्द्रका नेता राम कार्कीले चेको जीवन सुन्दर कविताजस्तो भएको बताए।
शाहले उठाएको प्रेम प्रसंगलाई कार्कीले पनि जोडेका थिए। चे आफैंले लेखेको सन्दर्भलाई जोड्दै उनले भने, ‘प्रेमको चाहिने जति डोज छैन भने मानिस क्रान्तिकारी बन्नै सक्दैन।’
'शुष्क मानिस कसरी क्रान्तिकारी हुन सक्छ?' कार्कीले प्रश्न गरेका थिए।
‘चेः विश्वक्रान्तिका नायक’ पुस्तकका लेखक तथा स्तम्भकार राजेन्द्र महर्जनले चेमाथि आलोचनात्मक दृष्टिले हेर्नुपर्ने बताए। ‘चेको जीवनबारे आलोचनात्मक बहस हुन जरुरी छ,’ उनले भने, ‘हामीले उनलाई सम्झना गरिरहेका छौं तर श्राद्ध गर्नका लागि होइन।’
मन्त्री र गभर्नर भइसकेका चेमा सत्ता, शक्ति र सम्पत्तिप्रति आसक्ति नभएको उनले बताए।
हरेक महिनाको अन्तिम शुक्रबार विविध विषयमा छलफल, बहस लगायतका कार्यक्रम गर्ने शृङ्खला अन्तर्गत बातलाबाको आयोजनामा यसपालि चेबारे विमर्श भएको हो। कार्यक्रममा कविता वाचनसमेत भएको थियो।
क्युबाली क्रान्तिको सफलतापश्चात् बोलिभियामा संघर्ष गरिरहेका चे सिआइएबाट मारिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।