एजेन्सी- दक्षिण भारतीय मलयालम फिल्मका चर्चित अभिनेता दीलिप सहकर्मी अभिनेत्रीको अपहरण र यौन दुर्व्यवहारको मामिलामा दोषी पाइएपछि केही समयअघि पक्राउ परे।
उनले सोका लागि सन् २०१३ देखि नै योजना बनाएको खुलासा भएको छ। प्रहरीका अनुसार दीलिपले सन् २०१३ मा एक व्यक्तिलाई अभिनेत्रीको नग्न भिडियो बनाउन र फोटो खिच्न करिब डेढ करोड भारू अर्थात् नेपाली २ करोड ४० लाख रूपैयाँ दिएका थिए।
गएको फेब्रुअरी १७ मा दीलिपको निर्देशनमा केही गुण्डाले ती अभिनेत्रीलाई सुटिङबाट घर फर्कंदै गरेको बेला अपहरण गरेका थिए। अपहरणपछि करिब दुई घन्टासम्म गुडिरहेको उनकै कारभित्र शारीरिक र मानसिक रूपमा दुर्व्यवहार गरियो र, सोको फोटोसमेत खिचियो। अपहरणमा परेकी ती अभिनेत्री दीलिपकी पत्नी मन्जु वारियरसँग निकट थिइन्। सन् २०१५ मा दीलिपको उनीसँग डिभोर्स भयो। सोका लागि दीलिपले ती अभिनेत्रीलाई नै कारक मान्दै आएका थिए।
दुई घन्टाको दुर्व्यवहारपछि अभिनेत्रीलाई अपहरणकारीले मुक्त गरिदिएका थिए। प्रहरीले उजुरीका आधारमा दीलिप, उनका ड्राइभर पुल्सर सहित घटनामा संलग्न ६ व्यक्तिलाई पक्राउ गर्यो। प्रहरीसामु पुल्सरले नै योजनाको खुलासा गरिदिए।
पुल्सरले आफूहरूलाई दीलिपले ती अभिनेत्रीको विभिन्न एङ्गलबाट भिडियो बनाउन र फोटो खिच्न लगाएको बयान दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।