पोखरा– न कुनै अध्यक्ष, न कुनै प्रमुख अतिथि, न कुनै औपचारिकता। पत्रकार अमृत सुवेदीले कार्यक्रमको उठान गरे। लेखक गनेस पौडेलले आख्यानकार कुमार नगरकोटीलाई माइक हस्तान्तरण गरे र सुरु भए आख्यानकार कुमार नगरकोटीका कविता।
पोखरेली समर्थक तथा शुभचिन्तकको लामो प्रतीक्षालाई भंग गर्दै ‘प्रिय मृत्यु’ कविता सुनाउँदै कुमारले ‘नगरकोटी नाइट’ कार्यक्रमको ढोका खोले। हिन्दी भाषामा ‘प्रिय मृत्यु’ सुनाउँदै शनिबार बाजेको सेकुवा पार्टी प्यालेसको मञ्चमा उक्लेका नगरकोटीलाई देखेर पोखरेली पारखी दंग थिए। फरक परिचयको आख्यानकारका रुपमा चिनिएका नगरकोटीलाई पोखरेलीले कविताका साथ सुन्दै थिए। पोखराबाट प्रकाशित पोखरेली न्युजले कुमार नगरकोटीलाई ‘नगरकोटी नाइट’ नाम दिएर मञ्चमा उभ्याएको थियो।
नगरकोटी ब्रान्डको पहिरनमा कविता सुनाउन मञ्चमा उक्लिएका नगरकोटीले पोखरेली दर्शकलाई घरी हँसाए, घरी विचारको गहिराइमा पु¥याए त घरी संगीतको गुनगुनाहट पस्किए। ‘मञ्चमा घरी ओहोर–दोहोर गर्छन्, घरी कतै आडेस लाग्छन् त घरी सोफामा पल्टेर आनन्दसँग कविता सुनाउँछन्। यो मलाई अद्भूत खालको अनुभूति दियो,’ पुरुसोत्तम कुँवरले भने, ‘यो कार्यक्रमले कविताको फरक स्वाद चखायो।’ झन्डै एक दर्जनभन्दा बढी कविता सुनाएका नगरकोटीले हिन्दी, स्पेनिस, अंग्रेजी र नेपाली कविताको फरक–फरक स्वाद चखाए।
सम्झनाका सद्बिजहरु, तुम सो रही थी, औंला, बडी अफ वुमन लगायत कविता नगरकोटीको मेनुमा थियो। कवि सरस्वती प्रतीक्षाको कविता संग्रह बागी सारंगीका मन परेका हरफ निकालेर नगरकोटीले ‘चिहानकी अन्ना करेलिना’ कविता सरप्राइज दिए। नगरकोटीको छोरा ग्रिस्मिलले कवि तीर्थ श्रेष्ठलाई भाइ भन्ने किस्साबाट कविता सुनाउँदै उनले ‘हिउँमा कोरिएका नामहरु’ कवितालाई मात्रै वाचन गरेनन्, दुई कविता उपहार दिएर तीर्थलाई अर्को सरप्राइज दिए। कार्यक्रमहरुमा प्रमुख वक्ता, अतिथिका रुपमा देखिने कवि तीर्थले शुक्रबार भने माइक मागेरै कार्यक्रम र नगरकोटी प्रस्तुतिको प्रशसां गरेका थिए।
आख्यानकार गनेस पौडेलले कवि र दर्शक–स्रोताबीच रहने एक खालको दुरी घटाएर कवि र कवितालाई महसुस गराउने काम नगरकोटी नाइटले गरेको बताए। फरक स्वाद र नितान्त अनौपचारिक कार्यक्रम पस्कन पाउँदा खुसी लागेको बताउँदै पौडेलले नगरकोटीको यस्तै कार्यक्रमले अन्य सहरमा पनि निरन्तरता पाउने विश्वास व्यक्त गरे।
नगरकोटी नाइटमा पोखरेली कविता पारखी एक हजार रुपैयाँको टिकट काटेर नगरकोटीलाई सुन्न पुगेका थिए।
नगरकोटी नाइटकै अवसरमा ७ जना व्यक्तिको हातबाट पोखरेली न्युज साप्ताहिकको लोकापर्ण गरिएको थियो। कवि तीर्थ श्रेष्ठ, आख्यानकार कुमार नगरकोटी, गनेस पौडेल, गायिका हरिदेवी कोइराला, पोखरेली न्युजका प्रवन्ध निर्देशक उत्तम गुरुङ, निर्देशक एकराज गिरी र ओम डेभलपमेन्ट बैंकका सिइओ विश्व अधिकारीले संयुक्त रुपमा पत्रिकाको विमोचन गरेका हुन्।
नगरकोटी नाइटका संयोजक तथा पत्रिकाका प्रकाशक सञ्जय मल्लले फरक स्वाद र फरक प्रकृतिको कार्यक्रम पोखरेली पारखीलाई पस्केर केही नयाँपन दिन खोजिएको बताए। उनले भने, ‘जसरी फरक स्वादको कार्यक्रम हामीले गर्ने जमर्को गरेका छौं। यस्तै फरक स्वाद हाम्रो पोखरेली न्युजमा पाउन सक्नुहुनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।