विराटनगर– साउन अन्तिम साता बाढीले पुल र रेल्वे ट्रयाकमा क्षति पुर्याएपछि ठप्प भएको जोगबनी नाकाबाट आयात–निर्यात अझै हुन सकेको छैन । नाका सञ्चालनमा आउन नसक्दा झन्डै एक सय किलोमिटर दूरीमा रि–रूट गरेर भीमनगर–भण्टाबारीबाट आयात–निर्यात भइरहेको छ।
विहारको बथनाहास्थित मीरगञ्ज खोलाको फलामे पुल बाढीका कारण भाँसिएपछि मालवाहक सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । यस्तै, बाढीले जोगबनीसम्म पुग्ने भारतीय रेलमार्गको करिब ५ किलोमिटर खण्डको ट्रयाकमा क्षति पुर्याएको छ । ट्रयाक मुनिको माटो बगाएपछि रेल सेवा पनि ठप्प छ ।
भारतीय पक्षले क्षतिग्रस्त रेल्वे ट्रयाकको मर्मत धमाधम गरिरहे पनि भाँसिएको पुल मर्मतमा भने चासो नदेखाएको विराटनगरका उद्योगी–व्यवसायीले गुनासो गरेका छन् । नेपाली व्यवसायीहरुले वस्तु आयात–निर्यातमा समस्या भइरहेको भन्दै पुल मर्मतका लागि भारतीय पक्षलाई पटकपटक आग्रह गर्दै आएका छन् । मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले विहारका मुख्यमन्त्री नीतिशकुमारसँग भेटेरै आग्रह गरेका थिए।
विहार अररिया जिल्लाका डिएम हिमांशु शर्माले आइतबारदेखि पुल मर्मतको काम सुरु हुने बताएका छन्। उनले तीन दिनभित्रमा पुलको मर्मत सक्ने गरी काम थाल्ने तयारी भइरहेको जानकारी दिए।
मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले विहारका मुख्यमन्त्री नीतिशकुमारसँग भेटेरै पुल मर्मतका लागि आग्रह गरेका थिए।
भारत र तेस्रो मुलुक वस्तु आयात–निर्यात हुने जोगबनी नाका मुलुककै प्रमुख नाकामा पर्छ।
मीरगञ्ज पुलको उत्तरतर्फको भाग १० इन्च भाँसिएपछि पुलबाट १ टनभन्दा माथिका गाडी आवतजावतमा रोक लगाइएको छ। पुलसँगै जोगबनीसम्म आइपुग्ने रेलमार्ग पनि ठाउँठाउँमा भत्किएकाले रेलमार्गबाट आयात गरिने मालसामान पनि रोकिएको छ । सिमेन्ट उद्योगमा प्रयोग गरिने क्लिङ्कर र फ्लाइ यास, मलखाद, नुन, भटमास, आरती स्ट्रिप्सको कच्चा पदार्थ फलामे सिट, तार उद्योगका कच्चा पदार्थ र पाइप उद्योगका कच्चा पदार्थ लगायत सामग्री आउन नसकेको मोरङ व्यापार संघका महासचिव नविन रिजालले बताए।
मोरङ व्यापार संघ र उद्योग संठन मोरङको पहलमा जोगबनी–विराटनगर नाकाबाट गरिने आयात–निर्यातलाई भीमनगर–भण्टाबारी नाकामा रि–रुट गरेर आयात–निर्यात गर्न थालिएको छ।
आयात–निर्यात प्रभावित भएपछि विराटनगर भन्सारको राजस्व घटेको छ। भदौका लागि तोकिएको लक्ष्य अनुसार दैनिक सात करोड रुपैयाँ राजस्व संकलन हुनुपर्नेमा अहिले दैनिक एक करोड हाराहारीमा मात्रै राजस्व संकलन भइरहेको विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले जानकारी दिए। भदौमा २ अर्ब ५० करोड राजस्व संकलन गर्ने विराटनगर भन्सारको लक्ष्य छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।