सन् १९२४ भन्दा केही पछि लक्ष्मीप्रसाद देवकोटाको 'मुनामदन' पढ्ने मलाई सौभाग्य प्राप्त भयो । त्यसको पाठ बडो स्फूर्तिदायक थियो । प्राचीन कालदेखि नेपाल तथा तिब्बतमा जो व्यापारिक सम्बन्ध थियो, त्यसका पृष्ठभूमिमा लेखिएको यो खण्डकाव्य नेपाली साहित्यको रत्न छ । लासामा केही काल बसी सुनका लाप्सा लिएर फर्कने मुनामनादनको व्यापारी नेपाली तथा तिब्बतका ऐतिहासिक परम्पराको प्रतिनिधित्व गर्छ । उसमाथि पनि यो खण्डकाव्य झ्याउरे छन्दमा लेखिएको हुनाले नेपालीहरुलाई झन् प्रिय भयो । यो छन्द तिनताक काव्यकारहरु उस्तो उपयोग गर्दैनथे । देवकोटाजीले उत्तम काव्य यसमा लेखी उत्तम काव्यको माध्यम हुन सक्ने शक्ति यसमा रहेछ भन्ने कुरा प्रमाणित गरिदिनुभएको थियो।
नेपाली काव्यमा संस्कृत छन्दको अत्यधिक प्रचलन देखी सुकाव्यको माध्यम लोकगीतमा व्यवहार हुने साधारण छन्द पनि हुन सक्छ भनी देखाउन गरेको यो प्रयोग अत्यन्त महत्त्वपूर्ण छ । लोकगीतको छन्दलाई उच्चता प्रदान गरी पछि-पछि विकसित भएको लोकगीतको लयलाई प्रधानता दिने तथा तिनको गान गर्ने जो परम्परा नेपाली कलाकारहरुमा चल्यो, त्यसलाई परोक्ष रीतिले देवकोटाजीले ठूलो उत्साह प्रदान गर्नुभयो।
यिनै कारणले गर्दा मुनामदन अत्यन्त लोकप्रिय ग्रन्थ छ । यो देवकोटाजीलाई पनि अत्यन्त प्रिय थियो, किनभने मृत्युका केही दिनअघि 'मेरा जम्मै रचना अग्निसात् भए तापनि मुनामदन एउटा जीवित रहोस्' भन्ने कविको उद्गार समाचारपत्रहरुमा प्रकाशित भएको थियो।
देवकोटाजी एउटा असाधारण प्रतिभासम्पन्न व्यक्ति हुनुहुन्थ्यो भन्ने कुरामा केही सन्देह छैन । वहाँले जे लेखे तापनि कविता, लेख, कथा इत्यादि त्यो एउटा विशिष्ट रचना हुन्थ्यो तथा त्यो साधारण लेखकका कृतिभन्दा भिन्न हुन्थ्यो । त्यसमा वहाँका प्रतिभाको चिह्न स्पष्ट देखिन्थ्यो । यस कारण देवकोटाजीका लेखमा आफ्नै प्रकारको महत्त्व छ तथा त्यो नेपाली काव्य जगतमा अतुलनीय छ।
व्याख्यान दिँदाखेरि पनि वहाँको वाग्धारा कहिल्यै थामिँदै थामिँदैन कि भने झैं बगिरहन्थ्यो । विचारको शृंखला बटारिँदै जान्थ्यो, लम्बिँदै जान्थ्यो तथा श्रोता वहाँको विचारको गहनताले अभिभूत भएर पक्क परी वहाँका कुरा सुनिरहन्थे।
असाधारण प्रतिभा भएका व्यक्तिमा प्राय: अध्यवसायको अभाव देखिन्छ । अलिअलि नियमपूर्वक काम गर्ने बानी उनीहरुको हुँदैन औ यो साधारण मान्छेको चलन उनीहरुलाई मन पनि पर्दैन । त्यसैले उनीहरुको काम गर्ने ढाँचा पनि बेग्लै हुन्छ । काम गर्दै नगर्योि, गर्न थालेपछि साधारण मानेछेले बोलाएर गरेको काम केही दिनमा नै उनीहरु गरेर पन्छाइदिनछन्।
देवकोटाजीले शाकुन्तल महाकाव्य केही दिनमा नै लेख्नुभएको हो तथा अरुअरु वहाँका कृति पनि यसैगरी अल्प समयमा नै समाप्त गरिएका हुन् । वहाँका अप्रकाशित ग्रन्थहरु कति छन्, तिनको ठेगान छैन । वहाँको कलम एकचोटि चलेपछि पुग्नुपर्ने ठाउँमा नपुगी थामिँदैनथ्यो।
व्याख्यान दिँदाखेरि पनि वहाँको वाग्धारा कहिल्यै थामिँदै थामिँदैन कि भने झैं बगिरहन्थ्यो । विचारको शृंखला बटारिँदै जान्थ्यो, लम्बिँदै जान्थ्यो तथा श्रोता वहाँको विचारको गहनताले अभिभूत भएर पक्क परी वहाँका कुरा सुनिरहन्थे।
देवकोटाजीको मृत्यु पनि असाधारण नै भयो । मर्न त सबै एक पटक पर्नैपर्छ । तर, जस्तै रोग लागे तापनि साधारण मानिस औषधिले निको हुने आशा अन्त्यसम्म गर्छ । तर, लक्ष्मीप्रसादजीलाई त केही महिनाअघिदेखि नै मृत्यु अवश्यम्भावी छ भन्ने ज्ञान भएको थियो । सो कुरा रोगी, उनका इष्टमित्र तथा साधारण जनता सबैले जानेका थिए, यस्ता स्थितिमा वहाँको अन्तिम समय काटियो । काल ढोकामा उभिएको छ तथा त्यो चाँडै कुन बेला आफूलाई लैजान सक्छ भन्ने कुरा वहाँलाई ज्ञान थियो । यस्तो अवस्थामा पनि कत्ति विचलित नभई वहाँले आफ्नो मानसिक स्थिति बिग्रन दिनुभएन । असाधारण मानिसको मृत्यु पनि असाधारण भयो।
देवकोटाजी असाधारण प्रतिभासम्पन्न मानिस भए तापनि वहाँको जीवन साधारण थियो । मानिससित भेटघाट, कुराकानी वहाँ बडो राम्ररी गर्नुहुन्थ्यो । भोजनका प्रेमी हुनुहुन्थ्यो तथा भोजन गर्दा बडा मीठा-मीठा कुरा गर्नुहुन्थ्यो । लवाइ, खवाइ, हिँडाइ, डुलाइमा अर्थात् जीवनमा केही विशेषता नदेखिए तापनि वहाँका कृतिहरु विशेषतापूर्ण छन् । पहिले-पहिले वहाँका अनुभूति सरल हुन्थे, तर पछि विचारको गहनता तिनमा देखिन थाल्यो तथा तिनलाई बुझ्न अनेक गाँठो फुकाउनुपर्ने भयो । तिनको यो दुरुहता वहाँका विचारको गम्भीरता घोतन गर्छ । कविका विचारका गम्भीरतामा आफूलाई पुर्यााएपछि मात्र पढ्ने मानिस तिनको आनन्द अनुभव गर्न सक्छ।
नेपाल बाहिरका मान्छे नेपालका तीन जना कलाकारलाई विशेष रुपले चिन्छन् । बालकृष्ण सम, लेखनाथ पौडेल तथा लक्ष्मीप्रसाद देवकोटाले यो त्रयी बनाएको थियो । आज यसमा एउटा स्थान देवकोटाजीको निधनले रिक्त भएको छ । साहित्यसेवीहरुका निम्ति यो रिक्तता एउटा हाँक जस्तो छ । यसले उनीहरुलाई साहित्य सेवाका मार्गमा झन् उत्साह तथा एकनिष्ठतासित अघि बढ्न आह्नान गर्छ।
देवकोटाजी सशरीर हाम्रा माझमा हुनुहुन्छ, यो कुरा साँचो हो । वहाँको स्मृतिरक्षा हामीले गर्न खोज्नु पनि स्वाभाविक हो । वहाँको स्मृतिरक्षा गर्ने काममा साहित्यसेवीहरु अब अघि सर्नुपर्छ । नेपाली भाषामा विविध प्रकारको साहित्य उपस्थित गर्न हामीले सक्नुपर्छ । हाम्रो साहित्यको अभिवृद्धिले नै देवकोटाजीको स्मृतिलाई अमर तुल्याउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।