आधुनिक नेपाली कवितामा नछुट्ने नाम हो, लक्ष्मीप्रसाद देवकोटा । कविता सिर्जना मात्र होइन, उनको दैनिकी, खानपान, पहिरन लगायत उनको जीवनशैली सार्वजनिक भइसकेका छन् । अब त उनी कसैको जबर्जस्त आदर्शभन्दा पनि नेपाली कवितामा मिथ झैं स्थापित भएका छन् । नेपाली साहित्यमा एउटा मिथक हुन्, देवकोटा।
उनलाई राम्रो-नराम्रो, ठूलो-सानो कविभन्दा पनि महाकविकै रुपमा हामीले पढ्दै आएका हौं । त्यही रुपमा बुझ्नुपर्छ।
मैले उनका सबै काव्य त पढेको छैन । मुनामदन खण्डकाव्य सानैमा पढियो । 'पागल', 'यात्री' जस्ता कविताहरु बोध गरेको छु । 'लक्ष्मी निबन्धसंग्रह'का साथै उनका फुटकर निबन्ध पनि अध्ययन गरेको छु।
मुनामदन चाहिँ आम नेपाली समाजको भुइँतह वर्गसम्म पुगेर लेखिएको खण्डकाव्य हो । यसैले पनि मुनामदन उनको जीवनकै सर्वोत्कृष्ट कृति बन्न पुग्यो। लोकलयमा आधारित झ्याउरे छन्द उसै पनि सबैले रुचाउँछन् । मुनामदनमा उनले यही प्रयोग गरे, पछि त सबैको जिब्रोजिब्रोमा झुन्डिने भइहाल्यो।
कतिपयलाई महाकवि भनेका को हुन् भन्ने थाहा छैन, तर 'मुनामदन' कण्ठ छ । यो त उखानजसरी नै स्थापित भइसक्यो । यी लाइन हेरौं न-
क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन।
'मुनामदन'भित्रको यो दुई लाइनले नै बृहत् आयाम बोकेको छ।
आदर्शभन्दा पर
राणाकालीन समयमा उदाएर र पञ्चायतको सकस भोगेका देवकोटामा समतामूलक समाज निर्माणको चेत थियो । एकतन्त्रीय राणाहरुको कठोर कालमा उनी गरिब, दु:खी र दलितहरुको पक्षमा थिए । त्यो समयमा पनि उनले डरधक मानेनन् । मानवतावादी कवितामा उनको त्यो मर्म बुझ्न सकिन्छ । समाजको जडता विरुद्ध उनी कवितामा क्रान्तिकारी भएरै देखापरे।
उनको समयमा संख्यात्मकसँगै गुणात्मक साहित्यको माग थियो । उनले त्यो अभाव पूर्ति गर्न पनि सक्दो लेखेकै हुन् । कविताको त्यो कालखण्डमा अभाव हुन दिएनन् पनि।
उनी जुन ढंगले लेख्थे, एकसरो लेखेपछि फेरि दोहोर्याएर साफी नगर्ने गरेको सुन्न र पढ्न पाइन्छ । त्यो उनको आफ्नै शैली होला । किनकि उनी कुनै जड सिद्धान्त वा वैचारिकताको साङ्लोमा बाँधिएका थिएनन् । स्वच्छन्द शैलीमा भावनाको तीव्र वेगले कविता उमार्थे र खोलाको गडगडाहट जसरी लेख्थे।
एउटै व्यक्तिले त्यो बेलाको समाजलाई तरंगित बनाएको सत्य हो । उनी आदर्शभन्दा परका कवि हुन् । उनको आफ्नै क्षमता, प्रतिभा र व्यक्तित्व थियो । उनी जस्तो हामी बन्न सक्दैनौं।
सबलता
उनका धेरै राम्रा पक्ष छन् । समाजमा प्रभाव पार्न उनको त्यो प्रतिभाले भूमिका खेलको छ । उनका सबलतालाई बुँदागत रुपमा यसरी भन्न सकिन्छ-
१. समाजको अन्धकार र जडता चिरेर प्रगतिशीलता अँगालेका कवि हुन् उनी।
२. जुन बेला जागृतिका साहित्य लेखिनुपर्थ्यो । उनले त्यो आवश्यकतालाई परिपूर्ति गरे।
३. तीव्र लेखनशक्ति भएर पनि उनका धेरै कविता उत्कृष्ट बन्न सफल छन् । उनमा त्यो प्रतिभा थियो।
४. गरिब, दु:खीहरुको पक्षमा सरल सहज भाषामा कविता लेख्ने क्षमताले पनि सामान्य पाठकले उनलाई प्रिय मान्छ।
५. मानवतावाद र प्रगतिशील चेतनालाई उनले एकसाथ अघि बढाए।
ईश्वरीय देवकोटा
उनमा रहेको उच्च ईश्वरीय भक्तिभावको चर्चा पनि भइरहन्छ । ईश्वरको निन्दा गर्नेहरु मानिस पनि छन् । तर, ईश्वर त आद्यविम्ब हो सबैको । खण्डन गरे तापनि सबैको हृदयपत्रको कुनामा कतै न कतै ईश्वरको छाप रहेकै हुन्छ, मधुरो छाया जस्तो । यो आफैंमा रहस्यपूर्ण छ । यसैलाई मान्छेले प्रेम गरेर हिँडेको हुन्छ, त्यो ईश्वरै होओस् वा उसको विश्वास!
देवकोटाको मनमा पनि यस्तै रहस्य थियो भन्न सकिन्छ । उनी ईश्वरभक्त थिए । तर, आस्तिकवादले ग्रस्त थिए भनेर आलोचना गर्नुको तुक छैन । यसो भनूँ, एउटा कवि जो विम्बात्मक हिसाबले ईश्वरलाई प्रेम गर्थे।
'यात्री' कविमा पनि उनले ईश्वर मन्दिरमा होइन, मान्छेको मनभित्र रहन्छ भनेका छन् । मानवताको सेवामा ईश्वरले बास गर्छ भनेर लेखेका छन् । मृत्युको अन्तिम अवस्थामा पनि उनले 'आखिर श्रीकृष्ण रहेछ एक..' भनेरै लेखेका थिए।
उदारताको पराकाष्ठा
अहिलेको पुस्ताका कविले उनको महाकाव्य पढ्छन् भनेर म विश्वास गर्न सक्दिनँ । पाठ्यक्रममा राखिएकाले धेरै विद्यार्थीले देवकोटाको खण्डकाव्य, महाकाव्य पढेका होलान्।
उनको शैली, काव्यचेतनालाई हरेकले फरक-फरक ढंगले प्रभाव ग्रहण गरेका छन् । उनको व्यक्तित्वबाट कति सिक्ने भन्ने कुरा अर्को पाटो भयो । गरिबलाई कोटै दिने, जति पैसा छ, दु:खीहरुलाई बाँड्दै हिँड्ने खालको उनको जुन स्वभाव थियो, उदारताको पराकाष्ठा हो त्यो । अहिलेको युगमा त त्यो सम्भव छैन।
एउटा व्यक्तिले आफूलाई जलाएर पनि समाजका लागि दियो झैं बलेर कसरी चेतना छर्न सक्छ भनेर उनीबाट प्रेरणा लिन सकिन्छ । यथार्थमा त उनको अस्तव्यस्त जीवनशैलीबाट सिक्नैपर्ने केही छैन । तर पनि, उनी त्यति उदार र मानवतावादी थिए भने हामीले किन प्रयास नगर्ने भनेर प्रेरणा चाहिँ लिन सक्छौं । कविहरु मात्र होइन, समाजका अरुले पनि उनीबाट प्रभाव ग्रहण गर्नुपर्ने पक्ष धेरै छन्।
(फणीन्द्र संगमले गरेको कुराकानीमा आधारित।)
यो पनि पढ्नुहोस्-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।