काठमाडौं- ‘टिच फर’ नेपालले ‘कक्षाकोठामा एक दिन’ अभियान आइतबारदेखि शुरु गर्ने भएको छ। एक दिन एक क्षणको प्रेरणाले पनि बालबालिकाको जीवन परिवर्तन गर्न सकिन्छ भन्ने उद्देश्यका साथ सो अभियान सञ्चालन गर्न लागिएको हो। अभियानअन्तर्गत विभिन्न क्षेत्रका एक सयभन्दा बढी अतिथिले टिच फर नेपाल सञ्चालित विद्यालयमा गई अध्यापन गर्नेछन्। सो अभियानमा कलाकार, पत्रकार, कूटनीतिक नियोगका पदाधिकारी, उद्यमी, सामाजिक अभियन्ता, राजनीतिकर्मी, सांसद, विभिन्न संस्थाका सञ्चालकलगायत सहभागी हुने बताइएको छ। सिन्धुपाल्चोकको मेलम्चीस्थित इन्द्रेश्वरी उच्च मावि जान लाग्नुभएका मदन पुरस्कार विजेता अमर न्यौपाने टिच फर नेपालको कामबाट आफू प्रभावित भएको बताए। न्यौपानेसँगै नेपथ्य ब्याण्डका गायक अमृत गुरुङ, वरिष्ठ पत्रकार रामकृष्ण रेग्मी, अभिनेत्री माल्भिका सुब्बा, गायक प्रताप दासलगायत सिरहा, सिन्धुपचाल्चोक र ललितपुरका विभिन्न विद्यालयमा जाँदै छन्। सांसद नवराज सिलवाल र पूर्व सांसद उदयशम्शेर राणासमेत सो कार्यक्रममा सहभागी हुने टिच फर नेपालले जनाएको छ। अभियानको उद्देश्यबारे कार्यक्रम संयोजक नवाङ शेर्पाले भने, “हाम्रा बालबालिकामा असीम सम्भावना छ। उनीहरूलाई प्रेरक शिक्षक र समाजबारे ज्ञानको आवश्यकता छ।” यसअघिका कार्यक्रममा विद्यार्थी अतिथिको कक्षाबाट प्रभावित हुनाका साथै उनीहरूको सोच र व्यवहारमा समेत परिवर्तन आएको उनले बताए। दुई हप्तासम्म चल्ने उक्त अभियानबाट सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि हुने आयोजकको विश्वास छ। शिक्षा मन्त्रालय, शिक्षा विभाग तथा सम्बन्धित जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा २०७० सालदेखि ललितपुर, २०७१ सालदेखि सिन्धुपाल्चोक, २०७२ सालदेखि धनुषा र २०७५ सालदेखि दाङ, लमजुङ र पर्सामा सो अभियान सञ्चालन हुँदै आएको छ। अभियानका लागि उक्त संस्थाले विद्यालयसँगको साँझेदारीमा विभिन्न विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण युवालाई छनोट गरी तालीम प्रदान गरेर अङ्ग्रेजी, गणित र विज्ञान शिक्षकका रूपमा उपलब्ध गराउँदै आएको छ। हाल ती जिल्लाका ५१ सामुदायिक विद्यालयमा ११० प्रशिक्षार्थी शिक्षक कार्यरत छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।