जनकपुर– गृहमन्त्री जनार्दन शर्माले प्रदेश नम्बर २ को सुरक्षा मुख्यालय जनकपुरलाई बनाइने बताएका छन । जनकपुरमा आइतबार सम्पन्न सुरक्षा गोष्ठीमा मन्त्री शर्माले यसको खुलासा गरेका हुन्।
मन्त्री शर्माले प्रदेश २ को सुरक्षा हेडक्वाटरका साथै प्रदेश प्रहरीको हेडक्वाटर पनि जनकपुरमै रहने जानकारी दिए । सशस्त्र प्रहरीको पनि यही प्रदेशमा दुई जना डिआइजी भएकाले समस्या भएको भन्दै उनले प्रदेशभर समन्वय गर्ने गरी एउटै एआइजी पठाउने तयारी भइरहेको जानकारी दिए।
सुरक्षा गोष्ठीमा सहभागीहरुलाई निर्देशन दिँदै गृहमन्त्री शर्माले भने, ‘निर्वाचन निष्पक्ष ढंगले सम्पन्न हुन्छ । त्यसका लागि सुरक्षा योजनाको अभाव हुँदैन।’
सशस्त्र समूहहरु मनोवैज्ञानिक नाम मात्र रहेको भन्दै उनले यो चुनौतीको सामना गर्न आवश्यक तयारी भइसकेको बताए।
‘प्रदेश २ मा भएका विभिन्न समूहको हर्कत, मतदानको समयमा हुने सम्भावित घटना चुनौती हुन् । यो चु्नौतीको सामना गर्न सुरक्षा व्यवस्था मिलाइसकिएको छ’, मन्त्री शर्माले भने।
उनले दुई नम्बर प्रदेशका जनता चुनावी उत्साहमा रहेको र बाढीको संकटको बीचमा पनि मतदान गर्न आतुर रहेको बताए।
सुरक्षा गोष्ठीमा दुई नम्बर प्रदेश अन्तर्गतका ८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सुरक्षा चुनौतीबारे रिपोर्टिङ गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।