चाड–पर्वको बेला सीमा नाकाबाट मालसमानको अबैध धन्दा बढेको गुनासो गर्दै विराटनगरका उद्योगी–व्यवसायीले त्यसलाई रोक्न प्रहरी–प्रशासनसँग माग गरेका छन्।
प्रदेश नम्बर १ का प्रहरी प्रमुख एआइजी पशुपति उपाध्याय, मोरङका एसपी अरुणकुमार जिसि र मोरङका सिडिओ रामप्रसाद आचार्यलाई स्वागत गर्न मोरङ व्यापार संघले आइतवार अपरान्ह आयोजना गरेको कार्यक्रममा यहाँका उद्योगी–व्यवसायीले तस्करी नियन्त्रणको माग गरे। प्रहरी–प्रशासनका नयाँ प्रमुख आउँदा यहाँका उद्योगी–व्यवसायीले स्वागत गर्ने परम्परा छ। गृह मन्त्रालयका यी तीनै अधिकारी यसै महिना विराटनगरमा कार्यभार सम्हाल्न आएका हुन्।
मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले सीमावर्ती क्षेत्रबाट अबैध आयात बढिरहेको र चाडपर्वका वेला अझ चोरीपैठारी बढ्ने भएकाले प्रहरी प्रशासनले अबैध आयातलाई निरुत्साहित गर्नुपर्ने बताए। सारडाका अनुसार बाढीपछि सीमा क्षेत्र खुकुलो पारिएकाले विभिन्न स्थानबाट अबैध आयात मौलाएको छ। भारतबाट एक हजार रुपैयाँ बराबरका सामान आयातमा भन्सार छुट गरिएको भएपनि एकै व्यक्तिले १० हजारभन्दा बढीका खाद्यान्न, लत्ताकपडा लगायतका बस्तुहरू अबैध रुपमा आयात गरिरहेका छन्।
मोरङ व्यापार संघका पूर्व अध्यक्षद्वय सुरेश शर्मा, ताराचन्द्र खेतानलगायतले शान्ति सुरक्षामा प्रहरी प्रशासनले विशेष ध्यान दिन माग गरे। यस्तै व्यवसायीले आयात निर्यातमा देखिएको समस्या समाधान गर्न माथिल्लो निकायमा पहल गर्न पनि माग गरे। उनीहरूले भारतको जोगवनीदेखि ५ किलोमिटर टाढाको खोलाको पुल भाँसिएर आयात निर्यातमा समस्या उत्पन्न भएको गुनासो गरे। सरकारमार्फत कुटनितिक पहल गरेर पुल मर्मत र आयात सहजीकरणमा सहयोग गर्न पनि आग्रह गरे।
प्रदेश नम्बर १ का प्रहरी प्रमुख एआइजी उपाध्यायले शान्ति सुरक्षा कायम गर्न आफू प्रतिबद्ध रहेको बताए। उनले चोरी तस्करी र अपराध नियन्त्रणमा कुनै कसर नराख्ने दाबी गरे।
उपाध्यायले आर्थिक गतिविधि धेरै हुने ठाउँमा ठगी र अपराध पनि हुने भएकाले त्यसतर्फ प्रहरी सजग रहने धारणा राखे। उपाध्यायले स्थानीयवासीसँग हातेमालो गरेर अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।