कर छल्ने डिस होम राजस्व अनुसन्धान र ठूला करदातासँगै अब आन्तरिक राजस्व विभागको निगरानीमा

दुर्गा दुलाल/उत्तम काप्री | २०७५ पौष १० मंगलबार | Tuesday, December 25, 2018 १६:४०:०० मा प्रकाशित

काठमाडौं– व्यवसायी चन्द्र ढकालले अगुवाइ गर्ने आइएमई ग्रुपको वर्चस्व रहेको डिस मिडिया नेटवर्क (डिस होम) ले मनपरी ढंगमा ग्राहक संख्या बताउँदै कर तिर्दै आएको विषयमा आन्तरिक राजस्व विभागले समेत अनुसन्धान थालेको छ। 

डिस होमले ग्राहक संख्या लुकाएर मासिक ४ करोडौं रुपैयाँ कर छली गर्दै आएको समाचार बाहिरिएपछि विभागले पनि अनुसन्धान थालेको हो। डिस होमको कर छलीको विषय नेपाल लाइभले प्रकाशन गरेपछि ठूला करदाता कार्यालयले टोलीसमेत गठन गरी अनुसन्धान गरिरहेको छ। ठूला करदाताले डिस होमको केन्द्रीय कार्यालय भैंसेपाटीमा छापा मारी कागजातसमेत नियन्त्रणमा लिएको छ। 

डिस होमको कर छलीमाथि यसअघि अनुसन्धान अघि बढाइसकेको विभागका अनुसन्धान निर्देशक ऋषिराम पोखरेलले जानकारी दिए। डिस होमको समग्र प्रणालीका अनुसन्धान थालिएको उनको भनाइ छ।

‘डिस होमसँगै पे–टिभी सेवा प्रदान गर्दै आएका कम्पनीहरुले तिर्ने करको विषयमा अनुुसन्धान सुरु भएको छ,’ पोखरेलले भने, ‘पे–टी सेवा प्रदायक कम्पनीहरुले आयात गरेको सेटअप बक्स संख्याभन्दा ग्राहक संख्या अति नै न्यून छ।’

विभागले अहिले विदेशबाट आयात भएको सेटअप बक्सको विषयमा अध्ययन थालेको छ। आयात भएकामध्ये कति सेटअप बक्स ग्राहकका घरमा जोडिएका छन्, कति स्टकका छन् भन्ने विवरण खोज्ने काम सुरु भएको पोखरेलले बताए। 

विभिन्न सेवा प्रदायक कम्पनीहरुले विदेशबाट आयात गर्ने छाता, एन्टेना, सेटअप बक्स र मासिक प्याकेजमा हुने कारोबारको विषयमा समेत विभागले अनुसन्धान गरिरहेको छ।

डिस हाेमकाे कर छली सम्बन्धमा नेपाल लाइभले प्रकाशन गरेका विशेष सामग्री:

‘कर छल्न ग्राहक संख्या लुकाउँछ डिस होम’ 

डिस होमले आँखाअगाडि कर छल्दा पनि तालुकदार मन्त्रालय बेखबर 

प्रतिमहिना कम्तीमा ४ करोड कर छल्छ डिस होम, हेर्नुस् हिसाबकिताब 

कर छल्ने डिस होम आन्तरिक राजस्व र ठूला करदाताको निगरानीमा

कर छल्ने डिस होममा ठूला करदाताको छापा, कागजात जफत