काठमाडौं- पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले सरकारले अध्यादेश ल्याएर कर्मचारीलाई आतंकित पारेको आरोप लगाएका छन्।
संसद्को हिउँदे अधिवेशनको पहिलो दिनको बैठकमा आज बोल्दै देउवाले भने, ‘सरकारले गरेका निर्णय कर्मचारीले लागू गर्ने हो, तर्साएर काम हुँदैन।’
प्रचण्डले भने जस्तो ड्याम्मै निर्णय गरेर लागू नहुने उनले बताए। प्रचण्डले प्रणाली, कानुन र ब्युरोक्रेसीलाई मिलाउँछौ भन्दाभन्दा झमेला भएको बताएका थिए। कम्युनिस्ट पार्टीको परम्परागत शासन हुन्थ्यो भने ड्यामड्याम निर्णय गरेर जान पाएको भए छिटो विकास हुने प्रचण्डको भनाइ थियो।
देउवाले कर्मचारीले किन काम गर्दैनन् बुझ्न सुझाव दिए। कर्मचारीलाई दु:ख दिएर काम नहुने भन्दै उनीहरु स्थायी सरकार भएको सम्झाएका छन्।
चिकित्सा क्षेत्रको सुधारका लागि डा गोविन्द केसीसँग सम्झौता गर्ने तर कार्यान्वयन नगरेको भन्दै उनले सरकारको विरोध गरे।
एसिया प्यासिफिक समिटमा सरकार धर्म प्रचारक संस्थाको आयोजक बनेको भन्दै उनले आपत्ति जनाए। उनले विपक्षीलाई बेवास्ता गरेर सरकारले एक्लै कुनै काम गर्न नसकिने चेतावनी पनि दिए।
निर्मला पन्तको हत्यारा पत्ता नलागेको भन्दै उनले सरकारको आलोचना गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।