काठमाडौं- कोसी करिडोर प्रसारण लाइन आयोजना अन्तर्गत धरान उपमहानगरपालिको वडा नम्बर २० मा देखिएको समस्या पहिचान र समाधानका उपाय खोज्न कार्यदल गठन गरिएको छ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा शनिबार धरानमा भएको सरोकारवालाको भेलाले सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीको संयोजकत्वमा कार्यदल गठन गरेको हो। कार्यदलमा वडाध्यक्ष, आयोजना प्रमुख, उपमहानगरपालिका इन्जिनियर, सरोकार समिति,ठेकेदार तथा परामर्शदाता कम्पनी, स्थानीय राजनीतिक दलबाट एकएक जना प्रतिनिधि रहेका छन्। कार्यदललाई आइतबारबाट काम सुरु गर्ने र सात दिनभित्रमा समस्या पहिचान गरी समाधानको उपायसहितको प्रतिवेदन मुख्यमन्त्री समक्ष पेश गर्ने कार्यदेश दिइएको छ।
धरान उपमहानगरपालिकाले प्रस्तावित रुटबाट प्रसारण लाइनको निर्माण गरिएमा उपमहानगरपालिका–२० को क्षेत्रमा स्थापित, निर्माणाधीन र पहिचान भएका पर्यटकीय स्थलहरुलाई प्रत्यक्ष/अप्रत्यक्ष रुपमा नकारात्मक असर पर्ने भन्दै त्यसलाई करिब २ सय मिटर पश्चिमबाट लैजान नेपाल विद्युत प्राधिकरणलाई लिखित रुपमै आग्रह गरेको थियो। यसबाट आयोजनाको निर्माण रोकिएको छ।
प्राधिकरणले भने उपमहानगरपालिकाले उठाएका विषयलाई प्रसारण लाइनले कुनै असर नगर्ने, असर पर्ने केही क्षेत्रहरुलाई लाईनको चेक सर्भे गर्ने क्रममा सम्बोधन गरिसकिएको र सम्पूर्ण प्रकृया पूरा गरी निर्माण भइरहेको आयोजनाको रुट सार्न नसकिने बताउँदै आएको छ।
मुख्यमन्त्री राईले कोसी करिडोर प्रसारण लाइनलाई नै देखेर १ नं प्रदेशमा जलविद्युत क्षेत्रमा लगानी भित्र्याउनुपर्ने उल्लेख गर्दै यसको निर्माण जसरी भए पनि समयमै सम्पन्न हुनु पर्ने बताए।
प्राधिकरणले अहिले प्रसारण लाइनको रुट भेडेटार–छोटी, मोरङ–सर्दू जलाधार क्षेत्र–तमाखाम–सालबोटे–चिण्डे डाँडा–भञ्ज्याङ–गोर्खा मेमोरियल पार्क–जलकन्या सामुदायिक वन हुँदै लैजाने प्रस्ताव गरिएको छ। उपमहानगरपालिकाले भने यो रुटलाई परिवर्तन गरी भेडेटार–चुलिकोट (घुमाउने डाँडा)–खैरे–कोकाहा खोला–भालुढुंगा हुँदै सर्दू खोला हुँदै लैजान भनेको हो।
रुट परिवर्तन गरिएमा स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदमा संशोधन गर्नुपर्ने हुँदा यसको पुनः अध्ययन गरी स्वीकृतिको प्रक्रिया अगाडि बढाउँदा कम्तीमा पनि २ वर्षको समयावधि लाग्ने लगायतका समस्याले निर्माण ढिलाइ हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।