काठमाडाैं- बारामा निर्माण हुन लागेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कतारले चासो देखाएको छ। कतारको चासोसँगै सरकारले कतारका लागि नेपालस्थित राजदूतावासमार्फत सूचना आदान-प्रदान हुने थालेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण देवकोटा पनि विमानस्थल निर्माणमा कतारले चासो देखाएको स्वीकार गर्छन्। ‘सरकार पनि कतारको लागि नेपालका राजदूतसँग सूचना आदान-प्रदान भएको विषयमा जानकार छ’, सचिव देवकोटाले भने, ‘राजदूतावासमार्फत विमानस्थल निर्माणको विषयमा द्विपक्षीय सूचना आदानप्रदान पनि भइरहेको छ।’
कतारले पनि कम्तीमा ३० वर्षको लागि निजगढ विमानस्थल निर्माण र सञ्चालन गर्ने गरी काम गर्ने प्रस्ताव माग गरेको मन्त्रालय स्रोत बताउँछ। तर, यस विषयमा निर्णय भने भइसकेको छैन।
कतारले विमानस्थल निर्माणमा चासो देखाएपछि प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री युवराज खतिवडा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीबीच पनि छलफल भइसकेको मन्त्रालय स्रोतको दाबी छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि कतारले केही समय अगाडि मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत नेपाल सरकारसमक्ष प्रस्ताव पेस गरेको थियो।
कतार सरकारले पेस गरेको प्रस्तावमा पर्यटन मन्त्रालयले कतारका लागि नेपाली राजदूतमार्फत सकारात्मक जवाफ पठाइसकेकाे सचिव देवकोटाले जानकारी दिए। तर, त्यसपछिको विषयमा भने आफूलाई कुनै जानकारी नभएको उनको भनाइ छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भम्रणको समयमा पनि कतारले विमानस्थल निर्माणमा चासो देखाएको थियो।
मन्त्रालय स्रोतका अनुसार प्रस्तावित निजगढ अन्तर्ष्ट्रिय विमानस्थल सरकारले कतारलाई सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा दिनेगरी छलफल गरेको हो। गत भदौमा अर्थ मन्त्रालयले पनि निजगढ विमानस्थल निर्माणको लागि साेही मोडल नै उपयुक्त हुनेगरी सुझाव दिएको थियो।
विमानस्थल निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन समेत पास भइसको छ। साथै अहिले विमानस्थल निर्माण स्थलमा रहेका रुख कटानी आदेशको फाइल वन तथा वातावण मन्त्रालयमा छलफलकै क्रममा छ। विमानस्थल निर्माणका लागि आयोजनाकाे कार्यालयले 'मास्टर प्लान'समेत निर्माण गर्नेगरी प्रक्रिया अगाडि बढाएको छ।
मन्त्रालयले पनि कोरियाली कम्पनी ल्यान्डमार्क वर्ल्डवाइड (एलएमडब्लू)ले तयार पारेको प्रतिवेदनको स्वामित्व ग्रहण गर्दै काम अगाडि बढाइरहेको छ।
३ हजार ६ सय मिटर लामो र ४५ मिटर फराकिलो तथा दोहोरो धावन मार्गसहित निर्माण हुने विमानस्थलकाे टर्मिनल भवनमा ६ बाेर्डिङ गेट, ३४ चेक-इन काउन्टर, ६ सुरक्षा जाँच, ३५ अध्यागमन, ८ स्थानमा भन्सार जाँच काउन्टर रहने छ।
विमानस्थल निर्माणपछि विश्व बजारमा उत्पादन भएका सबैजसो अत्याधुनिक वाइडबडी जहाजहरु उडान/अवतरण गर्न सक्ने तथा वार्षिक ६ करोड यात्रु धान्न सक्ने दाबी गरिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।