काठमाडौं– ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडि भएको बम विस्फोटमा परेर घाइते भएकाहरुको सरकारले नि:शुल्क उपचार गर्ने भएको छ।
ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत घाइतेहरुलाई भेट्दै गृहमन्त्री रामबहादुर थापा बादलले उनीहरुको सरकारले उपचार गर्न बताएका हुन्।
बम विस्फोटमा घाइते भएकाहरुको अवस्था बुझ्न गृहमन्त्री थापासँगै आइजिपी सर्वेन्द्र खनाल र महानगरीय प्रहरी आयुक्त कार्यालयका डिआइजी शैलेश थापा अस्पतालमा पुगेका छन्।
त्यस्तै गृहमन्त्री थापाले दोषीमाथि अनुसन्धान गरी कडा कारबाही गरिने प्रतिबद्धता पनि जाहेर गरेका छन्।
शुक्रबार राति भएको बम विस्फोटमा परेर लमजुङ घर भई ललितपुरको भैंसेपाटी बस्दै आएका सिंहप्रसाद गुरुङ, ललितपुर बागडोल बस्ने २६ वर्षीया प्रतीक्षा खड्का र काभ्रेको बनेपा घर भई मेडिसिटी अस्पतालमा स्टाफ नर्स रहेकी २५ वर्षीया उरुषा मानन्धर घाइते भएका थिए। तीमध्ये गुरुङको मृत्यु भइसकेको छ। बाँकी दुई जनाको उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।