सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले भ्रुणहत्या रोक्ने योजना ल्याएको छ।
जिल्लामा गर्भ परीक्षण गरेर छोरा भए जन्माउने र छोरी भए भ्रुणहत्या गर्ने क्रम बढेको र नगरपालिकामै बढी समस्या देखेपछि यसलाई रोक्न नगरपालिकाले योजना ल्याएको हो।
नगरपालिकाले वीरेन्द्रनगरलाई छोरीमैत्री बनाउने आफ्नो पहिलो निर्णयलाई अहिले कार्यान्वयनमा अघि बढाएको हो । जस अन्तर्गत नगरपालिकाभित्र जन्मिने हरेक छोरीको नाममा बैंकमा निःशुल्क खाता खोलिदिने योजना ल्याएको छ । यस योजना अन्तर्गत अहिलेसम्म सात जनाको बचत खाता खोलिसकिएको नगरपालिकाले जनाएको छ । खाता खोल्दा एक हजार रुपैयाँ नगरपालिकाले बचत गरिदिने गरेको छ।
अभिभावकहरुलाई छोरीका लागि पनि बचत गर्नुपर्छ भनेर उत्प्रेरित गराउन समेत यस्तो योजना ल्याइएको नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले बताइन् । शिक्षित व्यक्तिहरू बस्ने नगरभित्रै पछिल्ला दिनमा छोरीमाथि गर्भमै विभेद भइरहेको पाइएकाले नगरपालिकाले यस्तो योजना ल्याएको उनले जानकारी दिइन्।
सुर्खेतमा हरेक वर्ष गर्भपतन गराउनेहरुको संख्या बढ्दो छ । पछिल्लो एक वर्षको अवधिमा मात्रै जिल्लाभर दुई हजार ४ सय ६८ जनाले गर्भपतन गराएका छन् । यसरी गर्भपतन गराउनेहरुमध्ये अधिकांशले गर्भ जाँच गरेपछि भ्रुणहत्या गर्ने गरिएको स्वास्थ्य संस्थाहरुले जनाएका छन्।
पछिल्लो तथ्यांक अनुसार, वीरेन्द्रनगरमा जन्मिएका बालबालिकामध्ये छोरीभन्दा छोराको संख्या अधिक छ।
जिल्ला स्वास्थ्य कार्यालयले आर्थिक वर्ष २०७२/०७३ भएको सर्वेक्षणमा जिल्लाभर एक वर्षको अवधिमा एक हजार आठ सय ८९ बालकको जन्म भएकोमा बालिकाको संख्या एक हजार ७ सय ४० थियो । त्यस्तै, वीरेन्द्रनगरमा एक वर्षको अवधिमा एक हजार ७ सय ४ जना बालकको जन्म भएकोमा बालिका भने २ सय ८६ ले कम अर्थात् एक हजार ४ सय १८ जना जन्मिएका थिए।
भ्रुण हत्या गर्ने क्रम बढ्दै गएपछि यसतर्फ चासो दिएको नगरपालिकाले सम्बन्धित निकायहरुसँग सहकार्य गरेर यस विरुद्ध विशेष अभियान सञ्चालन गर्ने नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले बताए । स्थानीय मेडिकलहरूमा अवैध रूपमा गर्भपतन हुने गरेको सूचना पाएको भन्दै उनले त्यस्ता मेडिकललाई कारबाही गर्ने समेत बताए।
नगरपालिकाले अबको पाँच वर्षभित्रमा नगरभित्र भ्रुणहत्या पूर्णरूपमा बन्द गर्ने योजना बनाएको छ । यसका लागि नगरपालिकाले अनुगमन समिति समेत बनाउने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।