परम्परागत शैलीमै कुटानी–पिसानी

नेपाल लाइभ | २०७४ भदौ १९ सोमबार | Monday, September 04, 2017 १८:२५:०० मा प्रकाशित

रसुवा– विद्युतीय सेवा पुगेको एक दशक बितिसक्दा समेत रसुवाको उत्तरी क्षेत्रका बासिन्दा परम्परागत शैलीमै कुटानी–पिसानी गर्न बाध्य छन्। 

कुटानी–पिसानी गर्ने विद्युतीय उपकरण नहुँदा उत्तरी क्षेत्रका बासिन्दा अहिले पनि परम्परागत शैलीकै भर परेका हुन् । घरायसी प्रयोग तथा सामूहिक कामकाजका लागि स्थानीयहरुले अझैसम्म पनि घट्ट, जाँतो, ढिकी, ओखल लगायत प्रयोग गर्दै आएका छन्।

जिल्लाको साविकका लाङटाङ, वृद्धिम, टिमुरे, स्याफ्रु, चिलिमे, थुम्मन लगायत ९ गाविसमा अझै पनि परम्परागत रुपमा कुटानी र पिसानी हुने गर्छ।

चिलिमे जलविद्युत् कम्पनीको विद्युतीय सेवा पुगेको १२ वर्ष र गाउँमा केन्द्रीय प्रसारण लाइन जोडिएको २ वर्ष भइसक्दा पनि सो क्षेत्रमा कुटानी–पिसानीको विद्युतीय उपकरणको व्यवस्था हुन सकेको छैन ।

घट्ट भएको ठाउँमा वर्षायाममा पिसानीका लागि सहज हुने गरे पनि सुक्खायाममा समस्यामा पर्ने गरेको स्थानीय बताउँछन् । थुम्मनका दावा तामाङले भने, ‘पानी नभएपछि धेरै समस्या हुन्छ । सडकको पहुँच नभएको हाम्रो जस्तो ठाउँमा कसले मिल ल्याइदिन्छ र !’

रसुवाको उत्तरी क्षेत्रमा धान, मकै, कोदो, जौ, गहुँ, आलु लगायत अन्नबाली राम्रो उत्पादन हुन्छ। 

स्थानीयहरुले ओखलबाट अनाज कुटेर बिक्री गरी गुजारा चलाउने गरेका छन् । थुम्मनकी मेन्दो तामाङले ओखलमा धेरै समय लाग्ने भएकाले कतिपय अवस्थामा यसमै दिन बित्ने गरेको सुनाइन्।