ललितपुर- नेपाली कांग्रेसले २ नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनका लागि मुस्लिम समुदायका अगुवाहरुलाई समेत उम्मेदवार बनाएको छ।
कांग्रेसले सोमबार सार्वजनिक गरेको उम्मेदवारको नामावलीमा रौतहटको इस्नाथ नगरपालिकामा कौशिल्यादेवी, परोहा नगरपालिकामा शेख वकिल, राजपुर नगरपालिकामा मो. सकिल अख्तर र गुजरा नगरपालिकामा शेष दाउदलाई नगर प्रमुखको उम्मेवार बनाएको छ ।
यस्तै, पर्साको सखुवा प्रसौनी गाउँपालिकामा साबिर हुसेन, बाराको फेटा गाउँपालिकामा रुस्तम अन्सारी र महोत्तरीको साम्सी गाउँपालिकामा रंकिब शेखलाई अध्यक्षको उम्मेदवार बनाइएको छ।
कांग्रेसले बाराको कलैया उपमहानगरपालिकाको उपप्रमुखमा रहिमा खातुन र महोत्तरीको मटिहानी नगरपालिका उपप्रमुखमा जुमैदा खातुनलाई टिकट दिएको छ । यस्तै, पर्साको पोखरिया नगरपालिकामा रेहबा खातुन र जगरनाथपुर गाउँपालिकामा मैमुल नेशालाई उपाध्यक्षको उम्मेदवार बनाएको छ।
उता, रौतहटको इसनाथ नगरपालिकामा शेष कलाम हुसैन, राजपुर नगरपालिकामा जकिरा खातुन र बृन्दावन नगरपालिकामा नूर जहाँलाई उपप्रमुखलाई कांग्रेसले उम्मेदवार बनाएको छ। सप्तरीको डाक्नेश्वरी नगरपालिकामा सखिना खातुन र छिन्नमस्ता गाउँपालिकामा सहिदा खातुनलाई उपप्रमुखमा अघि सारिएको छ।
सर्लाहीको मलंगवा नगरपालिकाको उपप्रमुखमा कांग्रेसकी शवनम मिकरानीले उम्मेदवारी दिएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।