प्रदेश नम्बर १ का प्रहरी प्रमुख अतिरिक्त महानिरिक्षक पशुपति उपाध्यायले प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीय तहको चुनावलाई लिएर प्रदेश १ मा पनि सुरक्षा सर्तकता बढाइएको जानकारी दिएका छन्।
सोमवार स्थानीय पत्रकारसित कुराकानी गर्दै उनले चुनावको बेला अपराधिक गतिविधि र थप मद्दत नजाओस भनेर प्रदेश नम्बर १ मा पनि सुरक्षा सर्तकता बढाइएको बताए।
‘छिमेकी प्रदेश भएको नाताले पनि त्यहाँ हुने निर्वाचन शान्तिपूर्ण होस भन्ने हाम्रो चाहना हो,’ एआइजी उपाध्यायले भने, ‘प्रदेश नम्बर २ मा चुनावको बेला घुसपैठ र अपराधिक गतिविधि नहोस भनेर प्रदेश नम्बर १ मा पनि सुरक्षा कडाई गरिएको छ।’
उनले प्रदेश नम्बर २ सँग सीमा नजिक भएकोे प्रदेश नम्बर १ को जिल्ला सुनसरीको नाकामा बढी सर्तकता अपनाइएको बताए। ‘चुनावको बेला अपराधका लागि प्रदेश नम्बर १ बाट स्रोत–साधन नजाओस भन्नेमा हाम्रो ध्यान केन्द्रीत छ,’ उनले भने, ‘दुई नम्बर प्रदेशमा भइरहेको चुनावप्रति हाम्रो पनि चिन्ता र चासो छ।’
उनले तस्करी नियन्त्रण, ट्राफिक व्यवस्थापन, घरेलु हिंसा, अपराध रोक्न ‘वर्क आउट’ थालिसकेकाले केही दिनमै परिवर्तनको आभास हुनेगरी काम हुने दावी गरे। ‘परिवर्तन रातारात त नहोला,’ एआइजी उपाध्यायले भने, ‘तर हुन्छ। यहाँहरुले अनुभव गर्नुहुनेछ।’ उनले मोडिफाइ वाइकको ध्वनी आंतक र प्रेसर हर्न निषेध गर्ने काम पनि अगाडि बढाइने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।