दार्जिलिङ- छुट्टै गोर्खाल्यान्ड राज्यको लागि आन्दोलन गरिरहेका गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङसहित १० नेतामाथि बंगाल प्रहरीले राष्ट्रद्रोहको मुद्दा लगाएको छ।
मोर्चाका नेताहरुले विस्फोटक पदार्थ बनाउने कारखाना चलाएको पाइएकाले मुद्दा दायर गरेको प्रहरीको भनाइ छ । दार्जिलिङ प्रहरी अधिक्षक अखिलेश चतुर्वेदी अनुसार गुरुङसहितका नेताहरूले पहाडका विभिन्न प्रहरी चौकीमा विस्फोट गराउने प्रयास गरेको बताएका छन्।
‘दार्जिलिङको लेबोङ नजिक दवाईपानी भन्ने ठाउँमा विस्फोटक बनाउने कारखाना भेटिएको छ। जहाँबाट विष्फोटक बनाउने सामग्री बरामद गरिएको छ,’ चतुर्वेदीले नेपाल लाइभसँग भने।
दार्जिलिङ, दार्जिलिङ नजिकैको ६ माइल, मिरिक, टिस्टाका साथै कालेबुङ थानामा एक महिनाभित्र विस्फोट भएको थियो। विस्फोटमा परी कालेबुङमा एक प्रहरीको मृत्यु भएको थियो।
प्रहरी अधिक्षक चतुर्वेदीले ती सबै विस्फोट विमल गुरूङको निर्देशनमा भएको आरोप लगाएका छन्।
प्रहरीले विस्फोटक पदार्थ बनाएको आरोपमा दबाईपानीका २८ वर्षीय रजनी राईलाई पक्राउ गरेको छ । विस्फोटक पदार्थ बनाउने कारखाना चलाएको आरोपमा प्रहरीले विमल गुरूङका साथै मोर्चाका नेताहरू प्रकाश गुरूङ, शेखर राई, भाष्कर राई, लेबोङ(बदमताम युवा मोर्चा अध्यक्ष पुरण तामाङ, उनकी पत्नी विमला तामाङ, पातलेबासका पुकार सुब्बा र दबाईपानीका प्रदीप थापा विरुद्ध राष्ट्रद्रोहीको मुद्दा लगाएको छ।
‘हिजोदेखि नै गुप्त सूचनाको आधारमा हामीले निगरानी बढाएका थियौं,’ प्रहरी अधिक्षक चतुर्वेदीले भने, ‘एक जनालाई पक्राउ गरिएको छ भने त्यहाँ रहेका सामग्रीहरू बरामद गरिएको छ।’
चतुर्वेदीले आफूहरूले विष्फोटक बनाउन प्रयोग हुने ढिँडो, जिलेटिन, थ्रिनटथ्रीका तीन वटा गोली, डेटोनेटर, रडका ७७ वटा टुक्रा, धनुकाँडको काँड, बम्फोक, तार आदि बरामद गरेको बताएका छन्।
‘हाम्रो अनुमान अनुसार विस्फोटक पदार्थ बनाउने मानिसहरु भारतको नर्थइष्टबाट तालिम लिएर आएका हुन्,’ चतुर्वेदीले भने, ‘यस्ता कारखाना धेरै ठाउँमा सञ्चालन भइरहेको छ। मिरिक, ६ माइल लगायत धेरै ठाउँमा तिनै विस्फोटक प्रयोग गरिएको हाम्रो अनुमान छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।