काठमाडौं– त्यसो त समग्र माओवादी आन्दोलनमा सँगै हुनु एउटा कुरा हो। तर, एक समय कृष्णबहादुर महरा र वर्षमान पुन दुवै पुष्पकमल दाहाल प्रचण्डको साथमा थिएनन् । ०५०–०५१ सालतिर माओवादीले रोल्पा–रुकुममा वर्ग संघर्ष अभियान चलाएको थियो । अभियान अन्तर्गत ‘शोषक, सामन्त’ भन्दै धेरैलाई कुटपिट गरियो । त्यसबेला महरा सांसद थिए । पार्टी संसदमै रहेको बेला त्यस्तो अभियान चलाउन नहुने उनको मत थियो । महराको मतलाई माथिबाट मोहन वैद्य र तलबाट नेत्रविक्रम चन्दले साथ दिएका थिए।
यता, संघर्ष अभियानको नेतृत्व तत्कालीन पश्चिम कमान्ड इन्चार्ज रामबहादुर थापाले गरेका थिए । थापालाई रोल्पाका पुन, रुकुमका कुलबहादुर केसी, लोकेन्द्र विष्ट, गणेशमान पुनको बलियो साथ थियो । त्यसपछि थापाले उनीहरुलाई फटाफट जिम्मेवारी दिँदै अघि बढाए । त्यसबेला महराले उनीहरुलाई भेट्दा ‘साथीहरु चे ग्वेभारा, फेको उग्रवादी लाइनमा जान लागे’ भन्दै जिस्क्याउँथे भने पुनहरु पनि ‘महरा सर निर्मल लामाको दक्षिणपन्थी, विर्सजनवादी लाइनमा जानुभयो?’ भन्दै व्यङ्ग्य कस्थे।
‘जनयुद्ध’ सुरु भएपछि पुन सैन्य मोर्चामा खटिए । १ फागुन ०५२ मा माओवादीले रोल्पाको होलेरी चौकी आक्रमण गर्दा महरा कमिसार र पुन फौजी कमान्डर भए । यसपछि माओवादी शान्ति प्रक्रियामा नआउन्जेल पुन निरन्तर फौजी मौर्चामै खटिए । सैन्य मोर्चाले जति फड्को मार्दै गयो, उति चाँडो पुनको बढोत्तरी भयो । कतिसम्म भने, थापा ‘यौन विचलन’ को कारबाहीमा पर्नुअघि पुनले उनलाई महामन्त्री बनाउनुपर्ने ‘लबिङ’ थालेका थिए । थापा कारबाहीमा परेपछि भने पुनले प्रचण्डसँग सामीप्यता गाँसे । त्यसपछि उनले कहिल्यै पछि फर्केर हेर्नुपरेको छैन।
०६४ को सुरुवाततिर बाबुराम भट्टराई प्रचण्ड निवास नयाँबजारबाट एकान्तकुनास्थित पुन बसेकै घरमा सरेपछि उनी भट्टराई निकट भए । केही समयपछि पुन फेरि प्रचण्डसँगै निकट भए । यसपछि उनी भट्टराई विरुद्ध खनिए । यही मेसोमा भट्टराईले पुनलाई बालरोगीको संज्ञा दिन भ्याए । तर, तिनै पुनलाई आफू नेतृत्वको मन्त्रिपरिषदमा भट्टराईले अर्थमन्त्री बनाए।
०७२ असोज ३ गते संविधान जारी हुँदा पुन, उनकी पत्नी ओनसरी घर्ती र नन्दबहादुर पुन असन्तुष्ट थिए । घर्तीले अन्तर्वार्ता दिएर आफ्नो असन्तुष्टि पोखेकी थिइन् भने जनजातीहरुसँग मिलेर पुनद्वयले विज्ञप्ति नै निकालेका थिए। यसपछि प्रचण्डले ओनसरीलाई सभामुख बनाएर पुनलाई आफ्नो पोल्टामा ल्याए भने नन्दबहादुर पुनलाई उपराष्ट्रपति बनाएर उनको असन्तुष्टि थान्को लगाइदिए । श्रीमतीलाई सभामुख बनाएपछि भने पुनले प्रचण्डलाई खुलेर सहयोग गरिरहेका छन् र उपप्रधानमन्त्री महरालाई समेत ‘कर्नर’मा पार्दै सरकार सञ्चालनको निर्णायक ‘फ्याक्टर’ बनेका छन्।
यता, महरा चाहिँ ०६७ मंसिरमा गोरखाको पालुङ्टार विस्तारित बैठक अघिसम्म मोहन वैद्यको साथमा थिए । ०६५ मंसिरमा भक्तपुरको खरिपाटी भेलामा पनि महराले वैद्यलाई नै साथ दिएका थिए । जुनबेला उनी प्रचण्ड नेतृत्वको सरकारमा सूचना तथा सञ्चार मन्त्री थिए । त्यसअघि ०६४ साउनमा बालाजु विस्तारित बैठकमा पनि महराले ‘जनविद्रोह’ को नीति बोकेका वैद्य पक्षधरलाई नै साथ दिएका थिए । यही नीतिलाई समर्थन गर्दै ०६४ असोज १ गते मन्त्रिपरिषदमा सहभागी महरा नेतृत्वको टिमले सरकारबाट राजीनामा दिएको थियो । तर, त्यो राजीनामालाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले स्वीकृत गरेनन् । कोइरालाले प्रचण्डसँग ‘कुरा’ मिलाएपछि माओवादी मन्त्रीहरुले राजीनामा फिर्ता लिए।
पालुङटार विस्तारित बैठकयता भने महराले प्रचण्डलाई साथ दिइरहेका छन् । ०६८ साउनमा भट्टराई, वैद्य, थापा, नारायणकाजी श्रेष्ठले धोवीघाट भेला गर्दासमेत महरा प्रचण्डकै साथमा रहे । त्यसैको परिणाम प्रचण्डले उनलाई च्यापिरहेका छन् । रोचक के छ भने, महरा र पुन माओवादीभित्र सबैभन्दा बढी लाभको पद पाउने नेतामा पर्छन् । महरा तत्कालीन द्वन्द्वरत माओवादी र सरकारबीच भएका तीन वटै वार्तामा सहभागी हुने एक्लो नेता हुन् । र माओवादीभित्रबाट धेरै पटक सरकारमा सहभागी हुने नेता पनि।
यता पुन पनि होलेरी चौकीदेखि जिल्ला सदरमुकाम दुनै आक्रमण, दाङस्थित तत्कालीन शाही नेपाली सेनाको घोराही ब्यारेक आक्रमणको नेतृत्व गर्दै पूर्वी कमाण्डको सैन्य नेतृत्व र राजधानी समेत समेटेर गठन गरिएको विशेष केन्द्रीय कमान्डको इञ्चार्ज बने । यति अवसर पाउने उनीबाहेक कोही छैनन् । महरामा राजनीतिक शालीनता र निरन्तरता छ भने पुनमा सैन्य, राजनीतिक र कूटनीति तीन वटा क्षेत्रको निपूणता छ।
माओवादी केन्द्रका एक सचिवालय सदस्यका शब्दमा प्रचण्डले पुन र महरालाई च्यापिरहनुमा दृश्य/अदृश्य धेरै कारणले काम गरेका छन् । महरासँग शान्ति प्रक्रियाका संवेदनशील सूचनाहरु छन् । यसबाहेक प्रचण्डले बेइजिङसँग औपचारिक/अनौपचारिक रुपमा गाँसेका सम्बन्धमा पनि महरा साक्षी छन्। अनि सुरुवाती दिनमा प्रचण्डको आर्थिक व्यवस्थापनसँग पनि उनी जोडिएका छन् । पार्टीभित्र महरालाई प्रचण्डको आर्थिक व्यवस्थापनमा कोषाध्यक्षकै रुपमा हेरिन्छ।
यता, पुन जनजाती समुदायको हुनुका साथै माओवादीमा आर्थिक जोहो गर्ने अर्का महत्वपूर्ण सदस्य पनि हुन् । माओवादी शान्ति प्रक्रियामा आएलगत्तै राजधानीलाई समेत समेटर बनाएको विशेष केन्द्रीय कमान्डका इञ्चार्ज उनै पुन थिए । त्यसबेला पुनले प्रचण्डका लागि ठूलो आर्थिक जोहो गरिदिएका थिए । ‘प्रचण्डले महरा र पुनलाई च्यापिरहनुको मुख्य कारण आफ्नोबारे उनीहरुसँग भएका सूचना नचुहिऊन् भनेरै हो,’ ती सचिवालय सदस्य भन्छन्, ‘तर, महरा र पुनबीचको टक्करले प्रचण्डलाई समेत अप्ठ्यारो पार्दै लगेको छ।’
माओवादी केन्द्रका हेडक्वाटर सदस्य मणि थापाका बुझाइमा अहिले पार्टीभित्र एकले अर्कालाई निषेध गर्नु भनेको प्रतिगमन हो । ‘एकले अर्कालाई निषेध त के प्रतिस्पर्धा गर्ने अवस्था समेत छैन अहिले,’ उनी भन्छन्, ‘यतिबेला हाम्रो पार्टीभित्र एकले अर्कोलाई पूरकका रुपमा सहयोग गर्नु पर्ने परिस्थिति छ। यस्तो बेलामा महरा र पुनजीले टक्कर गर्नुभयो भने त्यसले उहाँहरुलाई नै ब्याक फायर गर्नेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।